सिमकोट गाउँपालिकाले रैथाने बाली खरिद सुरु गर्यो

फिल्को मिसन

किसानले उत्पादन बिक्री गर्न सजिलो, उचित मूल्यमा आम्दानीको अवसर

मंसिर १४, २०८२,
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिकाले यस वर्षका लागि रैथाने बाली खरिद प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । किसानले भित्र्याएको बाली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत प्रत्यक्ष अन्न खरिद गर्न थालेको हो ।
सिमकोट–५ की किसान बाँचु रावतले आफूले उत्पादन गरेको चार क्विन्टल सिमी गाउँपालिकालाई बिक्री गरेकी छन् । उनले बताइन्, “यस वर्ष सिमीको उत्पादन राम्रो भएकोले उचित मूल्य पाउन सफल भएको छु । मैले प्रतिकेजी रु २०० का दरले बिक्री गरी रु ८० हजार आम्दानी गरेको छु ।”
रावतका अनुसार रैथाने बाली सिधै गाउँपालिकामा बुझाउने र भुक्तानी सजिलै पाउने व्यवस्था भएपछि किसानलाई निकै सहज भएको छ। उनले फापर र उवा पनि बिक्री गर्ने तयारी गरिरहेकी छन् ।
गाउँपालिकाका कृषि शाखाका प्राविधिक नेत्रबहादुर शाहीले बताए, “यस वर्ष पाँच किसिमका रैथाने बाली–सिमी, चिनो, कागुनो, फापर र उवा–को खरिद कार्य सुरु गरिएको छ। हालसम्म १० क्विन्टल सिमी खरिद भइसकेको छ र अन्य बालीहरुको खरिद पनि अघि बढिरहेको छ ।”
शाहीका अनुसार यस्तो व्यवस्थाले किसानलाई उत्पादन लिएर बजार खोज्दै हिँड्नु पर्ने समस्या समाधान गरेको छ । किसानबाट खरिद भएका यी रैथाने बाली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सिमकोट शाखालाई बिक्री गर्नेछ । कम्पनी र गाउँपालिकाबीच यसका लागि औपचारिक सम्झौता पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस