हुम्लामा २५७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्जुन बोहरा

मंसिर ११, २०८२
हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा आशिका फाउण्डेशन नेपालले २५७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । सामाजिक अभियन्ता आशिका तामाङ (आशिका फाउण्डेशन)ले चंखेली गाउँपालिका–३ स्थित महेन्द्र आधारभूत विद्यालय मिमी र वडा नं २ स्थित महाकवि आधारभूत विद्यालयका विद्यार्थीलाई जाडोका लागि आवश्यक न्यानो कपडा वितरण गरेकी हुन् ।
तामाङले विशेष गरी नेपालका बिकट जिल्लामा पुगेर विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएकी छन्। उनले आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न जिल्लाका शिक्षकहरूलाई विद्यालयको नाम, विद्यार्थी संख्या र आवश्यक शैक्षिक सामग्री सम्बन्धी विवरण पठाउन अनुरोध गर्दै, फाउण्डेशनले संकलन गरेको बजेटबाट सहयोग प्रदान गर्दै आएकी छन् ।
चंखेली गाउँपालिकाका अनुसार, बुधबार (मंसिर १०) महेन्द्र आधारभूत विद्यालय मिमीमा १०० जना तथा महाकवि आधारभूत विद्यालयमा १५७ जना गरी कुल २५७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । वितरण कार्यक्रम सम्पन्न गरेपछि आशिका तामाङ हुम्लाको सदरमुकाम सिमकोटतर्फ प्रस्थान गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस