भारतमा फेला परेका हुम्लाका युवकको परिवार सम्पर्कमा आए

फिल्को मिसन

२०८३ साउन १८, सोमबार
सिमकोट । भारतमा फेला परेका हुम्लाका एक युवकको परिवार सम्पर्कमा आएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, स्याडाका दाबा साडपो बुढाका आफन्तसँग सम्पर्क स्थापित भएपछि उनलाई नेपाल फर्काउने प्रक्रिया अगाडि बढाइएको छ।
यसअघि भारतमा भेटिएका बुढाले आफ्नो नाम, बुबा–आमाको नाम र स्थायी ठेगाना मात्र बताउन सक्ने अवस्थामा रहेको जानकारी सार्वजनिक गरिएको थियो। उनले आफ्नो बुवाको नाम अर्जुन बुढा, आमाको नाम नामादक जाडमु बुढा तथा स्थायी ठेगाना सिमकोट गाउँपालिका–८, स्याडा, हुम्ला रहेको बताएका थिए।
सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाका अनुसार सार्वजनिक सूचनापछि युवककी ठूलीआमा तथा अन्य आफन्त सम्पर्कमा आएका छन्। उनीहरूमार्फत परिवारसँग सम्पर्क स्थापित भइसकेको र युवकलाई सुरक्षित रूपमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
वडा अध्यक्ष बुढाले युवकलाई परिवारसँग पुनर्मिलन गराउन आवश्यक समन्वय भइरहेको बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
यसअघि युवकका परिवार तथा आफन्तलाई सम्पर्कमा आउन र सूचना व्यापक रूपमा साझा गर्न गरिएको आग्रहपछि परिवारसँग सम्पर्क हुन सफल भएको हो।

प्रतिक्रिया दिनुहोस