तिल गाउँमा फेरि बाढी, मुख्य पुल बग्यो; सबै परिवार गुम्बामा विस्थापित
२०८३ साउन,१४,विहीबार
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका–६ अन्तर्गत लिमी उपत्यकाको तिल गाउँमा बिहीबार दिउँसो आएको आकस्मिक बाढीले गाउँको मुख्य काठे पुल बगाएको छ। बाढीपछि गाउँका सबै परिवार घर छाडेर करिब एक किलोमिटर टाढा रहेको गुम्बामा अस्थायी रूपमा आश्रय लिएका छन्।
स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे पश्चिम खोलामा पानीको बहाव एक्कासि बढेपछि गाउँको मुख्य आवतजावतको माध्यम बनेको पुल बगेको वडा सदस्य तेम्बा तुण्डुप लामाले बताए। उनका अनुसार बाढीले खोलाछेउका बारी तथा खेतीयोग्य जमिनमा समेत कटान गरेको छ।
बगेको पुल केही समयअघि मात्रै लिमीवासी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगमा गोफण्डमी अभियानमार्फत करिब १० लाख रुपैयाँ संकलन गरी पुनर्निर्माण गरिएको थियो। पुल बगेसँगै गाउँसँगको सम्पूर्ण आवतजावत अवरुद्ध भएको छ।
“गत वर्षको बाढीको त्रास अझै हटेको थिएन। फेरि बाढी आएपछि गाउँभरि भय र असुरक्षाको अवस्था सिर्जना भएको छ,” लामाले भने।
स्थानीयका अनुसार २०८२ साल जेठदेखि २०८३ साउन १४ गतेसम्म तिल गाउँले तीन पटक ठूलो बाढीको सामना गरिसकेको छ । यस अवधिमा हिमताल विस्फोटजन्य बाढीले तीन वटा घरमा क्षति पु¥याएको, करिब २० लाख रुपैयाँ बराबरको जलविद्युत् आयोजना बगाएको, तिल खोलामाथिका सबै पुल नष्ट गरेको तथा खेतीयोग्य जमिनमा व्यापक कटान गरेको छ।
गत वर्ष जेठ १ गते राति र साउन १२ गते तिल गाउँ र कतिञ्जुम गुम्बाबीच बग्ने सेखाङलुग्वा खोलामा आएको हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) ले पनि गाउँका पूर्वाधार र खेतीयोग्य जमिनमा ठूलो क्षति पु¥याएको थियो।
जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ होमागाईले तिल गाउँका सबै स्थानीय सुरक्षित रहेको जानकारी दिए। उनका अनुसार रात परिसकेकाले बिहीबार उद्धार तथा स्थलगत निरीक्षण टोली घटनास्थल पुग्न सकेन। शुक्रबार बिहान नेपाल प्रहरीको टोली पुगेर क्षतिको विस्तृत विवरण संकलन गर्नेछ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा हिमताल विस्फोट, आकस्मिक बाढी र पहिरोजन्य जोखिम बढ्दै गएको छ। यसअघि हुम्लाकै चंखेली गाउँपालिकाको नेप्का गाउँ पनि बाढीबाट प्रभावित भएको थियो।