कर्णालीमा नयाँ मुख्यमन्त्रीको टुंगो आज, दाबी पेस गर्न साँझ ५ बजेसम्म

फिल्को मिसन

२०८३ साउन,१२ मंगलबार
सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्ने भएको छ।
मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका हुन्।
सत्ता साझेदारीको सहमतिअनुसार नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाहीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्। शीर्ष नेतासँगको परामर्शपछि उनी मंगलबार बिहान सुर्खेत पुगेका छन्।
दाबी पेस गर्नुअघि नेकपा र एमालेका नेताबीच अन्तिम छलफल भइरहेको जनाइएको छ। यद्यपि मंगलबार दिउँसोसम्म प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबीसम्बन्धी कुनै औपचारिक पत्र प्राप्त नभएको सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन्।
आज दाबी पेस भएसँगै प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन्। नयाँ सरकार गठनसँगै कर्णाली प्रदेशले आफ्नो पाँचौँ मुख्यमन्त्री पाउनेछ।

प्रतिक्रिया दिनुहोस