कर्णालीमा मन्त्री बन्ने होडमा नेताहरू, उपसभामुखको राजीनामा तयारी

फिल्को मिसन

२०८३ साउन,१२ मंगलबार
सुर्खेत ।। कर्णाली प्रदेशमा नेकपा नेतृत्वको नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुगेसँगै मन्त्री बन्न नेताहरूबीच तीव्र दौडधुप सुरु भएको छ। पार्टी स्रोतका अनुसार मन्त्रीको सूचीमा नाम पार्न अधिकांश सांसद शीर्ष नेतृत्वसँग भेटघाटमा व्यस्त छन् भने केहीले छोटो अवधिका लागि भए पनि अवसर दिन आग्रह गरिरहेका छन्।
मुख्यमन्त्रीका आकांक्षीका रूपमा मंगलबहादुर शाहीको नाम अगाडि आइरहेका बेला यसअघि मन्त्री भइसकेका नेताहरूले पनि पुनः सरकारमा जाने इच्छा व्यक्त गरेका छन्। अर्कोतर्फ, अहिलेसम्म अवसर नपाएका सांसदहरूले जिम्मेवारीको न्यायोचित वितरण हुनुपर्ने माग राखेका छन्।
उपसभामुख यसुदा न्यौपाने मन्त्री बन्ने चर्चामा अग्रस्थानमा रहेको र त्यसका लागि उनले उपसभामुख पदबाट राजीनामा दिने तयारी गरेको चर्चा पार्टीभित्र छ।
नेकपा कर्णाली प्रदेश अध्यक्ष विमला केसीले भने मन्त्री छनोट कार्यसम्पादन, अवसरको समान वितरण र समावेशी प्रतिनिधित्वका आधारमा गरिने बताएकी छन्। नयाँ सरकार गठनको अन्तिम तयारीसँगै मन्त्री चयनलाई लिएर पार्टीभित्रको प्रतिस्पर्धा थप चर्किएको छ।

प्रतिक्रिया दिनुहोस