बाढीपीडितको आवाज बनेका पत्रकार नरजड तामाङ सम्मानित
समाचारमार्फत राहत दिलाउन योगदान गरेपछि चंखेली गाउँपालिका र वडा नं. ५ द्वारा सम्मान, नेक्पा गाउँमा असिनापानीले कृषिबालीमा ठूलो क्षति
सोमबार, साउन ४, २०८३
हुम्ला, चंखेली । बाढीपीडितको समस्या उजागर गर्दै सञ्चारमाध्यममार्फत निरन्तर समाचार प्रकाशन गरेका पत्रकार नरजड तामाङलाई चंखेली गाउँपालिका र वडा नं. ५ ले सम्मान गरेको छ ।
फोटो क्याप्सनः
बाढीपीडितको पक्षमा समाचार लेखी राहत उपलब्ध गराउन योगदान पु¥याएबापत चंखेली गाउँपालिका र वडा नं. ५ बाट सम्मान ग्रहण गर्दै पत्रकार नरजड तामाङ।
तामाङले अनलाइन पत्रिका तथा अन्य सञ्चारमाध्यममा बाढीपीडितको वास्तविक अवस्था प्रकाशित गरेपछि सम्बन्धित निकायको ध्यानाकर्षण भई प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको थियो । जनसरोकारको विषयलाई प्रभावकारी रूपमा उठाएको योगदानको कदर गर्दै गाउँपालिका तथा वडा कार्यालयले उनलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको हो ।

सम्मानपछि पत्रकार तामाङले वडा नं. ५ का वडाध्यक्ष हर्कधन तामाङ तथा चंखेली गाउँपालिकाकी उपाध्यक्ष प्रेमकला शाहीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले उक्त सम्मानलाई आफू मात्र नभई सत्य, निष्पक्ष र जनमुखी पत्रकारिताको सम्मानका रूपमा लिएको बताए।
“जनताको पीडा सम्बन्धित निकायसम्म पु¥याउनु पत्रकारको दायित्व हो। प्राप्त सम्मानले अझ जिम्मेवार भएर जनताको आवाज उठाउन प्रेरणा दिएको छ।“ — पत्रकार नरजड तामाङ
यसैबीच, चंखेली गाउँपालिकाको नेक्पा गाउँमा हालै परेको असिनापानीका कारण किसानले लगाएका मकै, कोदो, फापर, आलु, सिमी तथा अन्य मौसमी बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।
कृषिमा निर्भर अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत नै बाली भएकाले यस प्राकृतिक विपत्तिले किसानहरू आर्थिक रूपमा मारमा परेका छन्। कतिपय स्थानमा फलफूलका बिरुवा तथा घरका छानासमेत क्षति पुगेको स्थानीयको भनाइ छ।

स्थानीयवासीले सम्बन्धित निकायसँग क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित किसानलाई राहत, क्षतिपूर्ति तथा पुनःखेतीका लागि आवश्यक बीउबिजन र कृषि सामग्री उपलब्ध गराउन माग गरेका छन्।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई समयमै राहत तथा पुनस्र्थापनाको व्यवस्था गर्न स्थानीय सरकारले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।