हुम्ला अदालतको मुद्दा फछ्र्योट ७९.४ प्रतिश

फिल्को मिसन

आईतबार ३,साउन २०८३
सिमकोट । हुम्ला जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷८३ मा कुल मुद्दामध्ये ७९.४१ प्रतिशत फछ्र्योट गरेको जनाएको छ।
आइतबार सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार अदालतमा जिम्मेवारी सरी आएका ९ र नयाँ दर्ता भएका ५९ गरी कुल ६८ मुद्दामध्ये ५४ वटा फछ्र्योट भएका छन् भने १४ वटा मुद्दा बाँकी रहेका छन्।
देवानीतर्फ ३१ मध्ये २४ र फौजदारीतर्फ ३७ मध्ये ३० वटा मुद्दा टुंग्याइएको अदालतका श्रेस्तेदार श्रीदिप वाग्लेले जानकारी दिए। फछ्र्योट भएका मुद्दाको फैसला २१ दिनभित्र तयारी गरी सम्बन्धित पक्षलाई उपलब्ध गराइएको उनले बताए।
अदालतका न्यायाधीश नीलकण्ठ बरालका अनुसार थुनुवा रहेका १७ मुद्दामध्ये १३ वटा फछ्र्योट भएका छन्। इजलाशबाट मेलमिलापका लागि पठाइएका १८ मुद्दामध्ये १२ वटामा मेलमिलाप सफल भएको छ, जसको सफलता दर ६६.६७ प्रतिशत रहेको छ।
वार्षिक विवरणअनुसार अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदका १६ वटा मुद्दा दर्ता भएका छन्। अदालतले स्थानीय तहका न्यायिक समिति तथा अर्धन्यायिक निकायहरूको समेत अनुगमन गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस