रोकायाद्वारा छ्यागी खोला लघु जलविद्युत आयोजना उद्घाटन
चैत २३, २०८२
सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिका–६ मा पर्ने छ्यागी खोलामा निर्माण गरिएको लघु जलविद्युत आयोजनाको उद्घाटन सम्पन्न भएको छ। २० किलोवाट क्षमताको उक्त आयोजनाको उद्घाटन गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले गर्नुभएको हो।
कुल २ करोड ३७ लाख ३५ हजार ५३० रुपैयाँ २२ पैसाको लागतमा निर्माण सम्पन्न भएको यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड १३ लाख ६१ हजार ९७७ रुपैयाँ २० पैसा र सर्केगाड गाउँपालिकाको २३ लाख ७३ हजार ५५३ रुपैयाँ २ पैसा बराबरको योगदान रहेको छ।
उक्त लघु जलविद्युत आयोजनाबाट माथिल्लो छ्यागी, तल्लो छ्यागी र गिउसिका स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
कार्यक्रम सर्केगाड गाउँपालिका–६ का वडा अध्यक्ष पदमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष रोकाया प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अकिलबहादुर कार्की, वडा नम्बर ८ का अध्यक्ष रंगमल रोकाया, सुस्वा परियोजना संयोजक निलविक्रम शाही तथा पोषण संयोजक कलबहादुर छत्याललगायतको उपस्थिति रहेको थियो।
उक्त आयोजना सफल बनाउन बनदेवी आरएनजेबी काभ्रे तथा जनप्रतिनिधिहरूको सक्रिय पहल र समन्वय रहेको बताइएको छ।