हुम्लामा कांग्रेसका रोकाया निर्वाचित, रास्वपासहित चार उम्मेदवारको जमानत जफत
२०८२ फागुन २५गते सोमबार
हुम्ला । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हुम्लामा जारी मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन्। उनले ८ हजार ७९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार डा. दीपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार दल फडेराले ४ हजार ३३१ मत पाएका छन्।
यस निर्वाचनमा हुम्लाबाट चार जना उम्मेदवारको जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार टासी ल्हाजोम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जटिल कार्की, नेकपा माओवादीका उम्मेदवार कुम्भ बुढा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार छक्क बुढाको जमानत जफत भएको हो।
जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ३२८ मत खसेको थियो। प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जमानत जोगाउन कम्तीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ।
१० प्रतिशत मत कटाउन नसकेकी रास्वपाकी ल्हाजोमले १ हजार ६४ मत प्राप्त गरिन्। त्यस्तै, प्रलोपाका कार्कीले २४८, माओवादीका बुढाले १२८ र राप्रपाका बुढाले १२४ मत मात्रै प्राप्त गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारले भने जमानत जोगाएका छन्।