निर्वाचन हुम्लाहुम्लामा सुरक्षित मतगणनास्थल तयार, तारजाली र सिसीटिभी जडान

अर्जुन बोहरा

२०८२ फागुन १९ गते
हुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। मतदान अधिकृतसहित कर्मचारी तथा सुरक्षाकर्मीहरू तोकिएका मतदान स्थल तथा केन्द्रतर्फ खटाइसकिएको छ भने मतगणनास्थल समेत तयारी अवस्थामा राखिएको छ ।
सदरमुकाम सिमकोटस्थित जिल्ला अदालत हुम्लामा तारजाली र सिसीटिभी क्यामेरा जडान गरी सुरक्षित मतगणनास्थल तयार गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सुरक्षा व्यवस्थालाई कडा बनाउने उद्देश्यले मतगणनास्थलमा तारजालीसहित सिसीटिभी क्यामेरा जडान गरेको जनाएको छ।
मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार मतदानको मिति नजिकिँदै गर्दा मतगणनास्थलको सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ। मतदान अधिकृत तथा कर्मचारीहरूको नियुक्ति र परिचालनसँगै मतदान सम्पन्न भएपछि मतपेटिका ढुवानी तथा गणनास्थल व्यवस्थापनको तयारी पनि पूरा गरिएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, “मतदान सम्पन्न भएपछि फागुन २१ गते रातिसम्म जिल्लाका सबै स्थानबाट मतपेटिका सदरमुकाम ल्याइनेछ। त्यसपछि २२ गते बिहान राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूको उपस्थितिमा निर्णय गरी मतगणना कार्य अगाडि बढाइनेछ।”
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूका लागि कारागारभित्र एक अस्थायी मतदान स्थल र कर्मचारीहरूका लागि कर्मचारी मिलन केन्द्रमा दुई अस्थायी मतदान स्थल कायम गरिएको छ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाको मूल्याङ्कनका आधारमा २७ वटा मतदानस्थललाई अति संवेदनशील, २१ वटालाई संवेदनशील र १३ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अति संवेदनशील मतदानस्थलमा ८९ जना नेपाल प्रहरी र २८४ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ।
त्यसैगरी, २१ वटा संवेदनशील मतदानस्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी तथा १३ वटा सामान्य मतदानस्थलमा ३९ जना नेपाल प्रहरी र ६५ जना निर्वाचन प्रहरी खटाइने जनाइएको छ ।
एक निर्वाचन क्षेत्र रहेको हुम्लामा ६० मतदानस्थलमा ६४ मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल ३४ हजार ३७२ मतदाता रहेका छन्, जसमध्ये १८ हजार २१ पुरुष र १६ हजार ३५१ महिला मतदाता रहेका छन्। अघिल्लो निर्वाचनको तुलनामा यसपटक १ हजार १९४ मतदाता संख्या वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस