कांग्रेसद्वारा हुम्लाबाट जयपति रोकाया प्रतिनिधि सभा उम्मेदवार

फिल्को मिसन

माघ ५, २०८२, सोमबार
हुम्ला । नेपाली कांग्रेस केन्द्रले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट जयपति रोकायालाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
जिल्ला पार्टीको बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ जीवन बहादुर शाही, जयपति रोकाया र रिता शाहीको नाम सिफारिस गरेको थियो ।
पछिल्लो समय नेपाली कांग्रेस विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले पनि सभापति थापालाई आधिकारिक जिम्मेवारी प्रदान गरिसकेको छ । उता संस्थापन पक्षका पूर्व सभापति शेर बहादुर देउवाले आधिकारिकता सम्बन्धी विषयमा सर्वोच्च अदालतमा उजुरी दिएका छन् ।
यद्यपि उम्मेदवारी दर्ताको समय यही माघ ६ गते तोकिएकाले नव–निर्वाचित सभापति थापाको नेतृत्वमा सर्वसम्मत रूपमा जयपति रोकायाको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस सभापति थापाको सचिवालयले जनाएको छ ।
पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आएका रोकाया संगठन निर्माण, जनसम्पर्क तथा सामाजिक सेवामा योगदान पु¥याउँदै आएका नेता हुन् । स्थानीय स्तरमा राम्रो जनसमर्थन रहेको भन्दै पार्टीले उनलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ । पार्टीलाई बलियो बनाएर निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित सिफारिस गरिएको बताइएको छ ।
उम्मेदवार सिफारिस भएपछि रोकायाले पार्टीको विश्वासप्रति आभार व्यक्त गर्दै हुम्लावासीको विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
अन्तिम उम्मेदवार चयन भने नेपाली कांग्रेस केन्द्रीय समितिबाट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस