प्रतिनिधि सभा निर्वाचनः हुम्लाबाट प्रलोपा उम्मेदवार जटिल कार्की
माघ ३, २०८२, शनिबार
हुम्ला । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) हुम्लाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्केगाड गाउँपालिका–३, उनापानी निवासी जटिल कार्कीले एकल उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
२०८२ साल मंसिर ५ गते प्रलोपा पार्टी स्थापना भएको हो । कार्कीले आफू माओवादी पृष्ठभूमिबाट आएको र विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको बताउनुभएको छ ।
उहाँले नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनअपेक्षाअनुसार काम गर्न नसकेको ठहर गर्दै त्यसपछि आफू प्रलोपा पार्टीमा आबद्ध भएको स्पष्ट पार्नुभयो । साथै, भदौ २३ र २४ गते सम्पन्न ‘जेन–जी आन्दोलन’मार्फत युवा पुस्ताले उठाएका राजनीतिक दलको पुनर्गठन, पुस्तान्तरण र हस्तान्तरणका मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप प्रलोपा पार्टी गठन गरिएको उहाँको भनाइ छ ।
कार्कीले व्यक्तिगत स्वार्थ वा महत्वाकांक्षा नभई सहिद पिता प्रेमबहादुर कार्कीले देखेको सपना पूरा गर्ने उद्देश्यले राजनीतिमा लागेको बताउनुभयो । २०५२ देखि २०६२ सम्म चलेको जनयुद्धका क्रममा २०५८ जेठ १६ गते बाँकेमा तत्कालीन सरकारले गिरफ्तार गरी हत्या गरेका आफ्ना पिताले देश र जनताका लागि रगत बगाएको उल्लेख गर्दै ती सपनालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रलोपा पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका कार्की यसअघि तत्कालीन माओवादी विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय उपमहासचिव रहिसक्नुभएको थियो । नेता जनार्दन शर्मा माओवादीबाट अलग भएपछि कार्की पनि शर्मा पक्षमा रहेको बताइएको छ ।