रुकुममा प्रचण्डको आक्रोश : जनार्दनलाई ‘भगौडा’, पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा

फिल्को मिसन

पुस २६, २०८२ शनिबार
रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालको मुख्य आधार क्षेत्र रुकुम पुगेर आफ्ना पूर्व सहयात्री जनार्दन शर्मा ‘प्रभाकर’ विरुद्ध तीव्र आक्रमण गरेका छन् ।
शनिबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित १७ दलीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई ‘भगौडा, पलायनवादी र उदण्ड’ को संज्ञा दिँदै आगामी निर्वाचनमा आफू पूर्वी रुकुमबाट उम्मेदवार बन्ने औपचारिक घोषणा गरे ।
लामो समयदेखि पार्टीभित्र जारी अन्तरद्वन्द्व र जनार्दन शर्माको पार्टी परित्यागपछिको पृष्ठभूमिमा प्रचण्डको यो सम्बोधनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रचण्डले आफ्नो अधिकांश समय शर्माको आलोचनामा खर्च गर्दै नाम नलिइकनै ‘प्रतिगामी शक्तिको गोटी’ बनेको आरोप लगाए ।\


‘हिजो जनयुद्धको रापतापमा सँगै रहेका केही मानिस आज विचलित भएका छन्,’ आक्रोशित मुद्रामा उनले भने, ‘यो रुकुमको धर्ती शहीदको रगतले सिञ्चित छ । यहाँका जनता क्रान्तिकारी छन् । तर यहाँकै एक नेता (जनार्दन शर्मा) पलायन भए, कम्युनिष्ट र माक्र्सवाद छोड्ने ठाउँमा पुगे ।’
उनले जनार्दनको स्वभावलाई ‘उदण्ड’ भन्दै विगतमा आफूले उनका कमजोरीलाई समेत संरक्षण दिएको स्मरण गराए । ‘पहिला प्रभाकरले प्रचण्डलाई रुकुम ल्याउँथ्यो भन्ने थियो, अब प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भन्ने प्रश्न उठ्न सक्छ,’ उनले भने, ‘म भन्न चाहन्छु– अब म अझ बढी आउँछु । माधवकुमार नेपाललाई पनि साथ लिएर आएको छु । अब रुकुममा कुनै भगौडाको दादागिरी चल्ने छैन ।’


पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको नयाँ रणनीति
रुकुम पश्चिमबाट जनार्दन शर्मा निरन्तर निर्वाचन जित्दै आएका थिए । तर सम्बन्ध विच्छेदपछि प्रचण्डले रुकुमको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत दिएका छन् । ‘म पूर्वी रुकुमबाट चुनाव लड्दैछु, यो निश्चित भइसक्यो,’ प्रचण्डले घोषणा गरे, ‘म पूर्वी रुकुम आउनु भनेको पश्चिम रुकुम पनि आउनु हो । सिङ्गो रुकुम मेरा लागि परिवार हो । विकास र समृद्धिको जिम्मा अब म आफैँले लिन्छु ।’
उनको घोषणाले रुकुमको राजनीतिमा नयाँ तरंग ल्याएको छ । जनार्दनको प्रभाव क्षेत्रमा प्रत्यक्ष चुनौती दिने रणनीति प्रस्ट देखिएको छ ।


                                                                      ‘अन्तर्राष्ट्रिय षड्यन्त्र’ को आरोप
प्रचण्डले जनार्दन शर्माको पार्टी बहिर्गमनलाई व्यक्तिगत निर्णय मात्र नभई ‘अन्तर्राष्ट्रिय षड्यन्त्र’ को परिणाम भएको दाबी गरे । ‘साम्राज्यवादी शक्तिहरूले हाम्रो एकता देखेर आत्तिएपछि हाम्रै भित्रका केहीलाई किनेका छन्,’ उनले भने, ‘रुकुमका जनता जाली, फटाहा र ढोँगीहरूको पछि लाग्ने छैनन् ।’

उनले जनार्दनलाई ‘दास’ को संज्ञा दिँदै अब उनी कुनै पनि कम्युनिष्ट आन्दोलनको प्रतिनिधि नभएको टिप्पणी गरे । सभामा नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि उपस्थित थिए । प्रचण्डले १७ दलीय एकतालाई ‘ऐतिहासिक र अपरिहार्य’ भन्दै नयाँ मोर्चाले देशलाई नयाँ दिशा दिने दाबी गरे ।
‘हाम्रो चुनाव चिन्ह लाल तारा अब देशभर चम्किनेछ,’ उनले भने ।


                                                                  जनयुद्धकालीन योगदान सम्झँदै प्रचण्ड भावुक   सम्बोधन
राजनीतिक आक्रोशसँगै प्रचण्डले रुकुमको विकासका लागि नयाँ प्रतिबद्धता व्यक्त गरे । भौतिक पूर्वाधार, कृषि उत्पादन, ऊर्जा, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने उनले बताए ।
‘रुकुमको जलविद्युत् र जडिबुटी प्रयोग गरेर युवालाई रोजगारी दिने योजना मेरो प्राथमिकतामा छ,’ उनले भने । साथै काठमाडौँस्थित पार्टी मुख्यालयको ढोका रुकुमेली जनताका लागि सधैँ खुला रहने आश्वासन दिए ।


‘यो धर्ती क्रान्तिको आधार हो । कसैले पार्टी छोड्दैमा क्रान्ति रोकिन्न,’ उनले भने, ‘हामी शहीदको सपना पूरा गरेरै छोड्छौँ ।’ प्रचण्डको यो सम्बोधनले रुकुममा वर्षौँदेखि कायम जनार्दन शर्माको एकछत्र प्रभावलाई खुला चुनौती दिएको छ । अब पूर्व सर्वोच्च कमाण्डरबाट ‘भगौडा’ को आरोप खेपेका जनार्दन शर्माले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने चासो बढेको छ । पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणासँगै प्रचण्डले रुकुमको राजनीतिलाई प्रत्यक्ष आफ्नो नियन्त्रणमा राख्ने स्पष्ट संकेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस