कानुन छ, तर चेतना छैन : हुम्लामा अझै रोकिएन बालविवाह

अर्जुन बोहरा

पुस २२, २०८२
हुम्ला । नेपालको कानुनले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने स्पष्ट व्यवस्था गरेको भए पनि हुम्लामा बालविवाह अझै रोकिएको छैन । कानुन अनुसार केटा–केटी दुवैको उमेर २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने र त्यसमा संलग्नलाई दण्ड सजाय हुने व्यवस्था रहे पनि व्यवहारमा बालविवाहका घटनाहरू निरन्तर बढिरहेका छन्
बालविवाह बढ्दै गएपछि हुम्लाका स्थानीय तहहरूले त्यसविरुद्ध अभियान सञ्चालन गरिरहेका छन् । केही गाउँपालिकाले आफूलाई ‘बालविवाह मुक्त’ घोषणा गरिसकेका छन् भने केही अझै अभियानकै चरणमा छन् । तर बालविवाह मुक्त घोषणा गरिसकेका गाउँपालिकामै पछिल्लो ६ महिनाको अवधिमा सिमकोट र खार्पुनाथ गाउँपालिकामा १० वटा बालविवाह भएको तथ्य बाहिर आएको छ ।
एकातिर बालविवाह मुक्त घोषणा गर्ने, अर्कोतिर उमेर नपुगी विवाह गराउने प्रवृत्ति बढ्नुले स्थानीय सरकारको घोषणामाथि नै प्रश्न उठाएको छ । कतिपय अभिभावक कानुन नजानेर, कतिपय जानाजान र कतिपय सामाजिक दबाबका कारण छोराछोरीको सानै उमेरमा विवाह गराइरहेका छन् ।
अभाव, अशिक्षा र गाउँमै मिलाउने प्रथाले बालविवाहलाई थप बढावा दिएको स्थानीयहरूको भनाइ छ । बालविवाह सम्बन्धी सूचना गाउँपालिका, प्रहरी वा न्यायिक समितिसम्म नपुग्नु पनि यसको प्रमुख कारण बनेको छ ।
सिमकोट गाउँपालिका–२ का गोरासिं बोहराका अनुसार कक्षा ९ र १० मै पढिरहेका किशोर–किशोरीहरूको उमेर नपुगी विवाह भइरहेको छ । “कतिपयलाई कानुन थाहा छैन, थाहा भएकाहरूले पनि वास्ता गर्दैनन्,” उनले भने ।
मोबाइल फोन र सामाजिक सञ्जालबाट हुने देखासिकी पनि बालविवाहको अर्को कारण बनेको छ । कानुनी जानकारी नहुँदा विवाह रोकिँदा अभिभावक अप्ठ्यारोमा पर्ने गरेका छन् । धेरै अभिभावकले छोराछोरीले आफैँ खुसीले विवाह गरेको दाबी गर्ने गरेका छन् ।
कतिपय अभिभावकमा बालविवाह कानुनी अपराध हो भन्ने चेतनाको अभाव छ भने कतिपयले कानुन बुझे पनि ‘एक्लो सन्तान’ वा ‘समाजको डर’ जस्ता कारण देखाउँदै विवाह गराइरहेका छन् ।
पूर्व नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष कर्णबहादुर रोकायाका अनुसार हुम्लाका सातवटै गाउँपालिकामा बालविवाह रोक्न विद्यालय र समुदायस्तरमै निरन्तर सचेतना कार्यक्रम आवश्यक छ । “अभियान चले पनि बालविवाह पूर्ण रूपमा अन्त्य हुन सकेको छैन,” उनले बताए ।मुलुकी अपराध संहिता–२०७४ को दफा १७३ अनुसार २० वर्षभन्दा कम उमेरमा गरिएको विवाह स्वतः बदर हुने कानुनी व्यवस्था छ । साथै, त्यस्तो विवाहमा संलग्न व्यक्ति वा पक्षलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ ।

इन्सेक हुम्लाद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै वैतनिक अधिवक्ता राजन चन्दले बालविवाह स्पष्ट रूपमा गैरकानुनी तथा दण्डनीय अपराध भएको बताइन्। कानुनको व्यवस्था हुँदाहुँदै पनि गाउँ–समाजमा बालविवाहलाई सहज रूपमा स्वीकार्ने प्रवृत्तिका कारण बालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर परिरहेको छ । सानै उमेरमा विवाह गर्दा धेरै बालिकाहरू विद्यालय छोड्न बाध्य भएका छन् भने प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमसमेत बढेको बताईन ।
६ महिनाअघि सिमकोट गाउँपालिकाकी १६ वर्षीया विना (परिवर्तित नाम) ले १९ वर्षीय युवकसँग विवाह गरिन् । उनले देखासिकीका कारण विवाह गरेको बताइन् । त्यस्तै खार्पुनाथ गाउँपालिकाकी १५ वर्षीया आशिका (परिवर्तित नाम) ले पनि आर्थिक अवस्थाका कारण १८ वर्षीय युवकसँग विवाह गरेकी छन ्।
हुम्लाका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूका अनुसार पछिल्लो एक वर्षमा २० जना किशोरीले १८ वर्ष नपुग्दै विवाह गरेका छन् । रामदेव माध्यमिक विद्यालय ठेहेकी कक्षा ९ की छात्रा रेश्मी भण्डारी (परिवर्तित नाम) भन्छिन्, “स्कूलमै पढिरहेका धेरैले विवाह गरिरहेका छन्, तर कसैले उजुरी गर्दैनन्।”
बालविवाहका घटनाहरू परिवार र समाजले नै गुपचुप राख्ने प्रवृत्तिका कारण प्रहरीसम्म कमै पुग्ने गरेका छन्। उजुरी परे पनि मिलापत्रमै टुंग्याइने गरेको छ।
बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षित भविष्यमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि स्थानीय सरकार, विद्यालय, अभिभावक र समाज सबैले मिलेर दीर्घकालीन सचेतना र कडाइका साथ कानुन कार्यान्वयन गर्नुपर्ने अधिकारकर्मीहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस