गर्भवती छत्याललाई नेपाली सेनाको हवाईद्धारा जिल्ला बाहिर उद्धार
पुस १२, २०८२
सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २० वर्षीया गर्भवती महिला मनिषा छत्याललाई गम्भीर सुत्केरी जटिलता देखिएपछि नेपाली सेनाको हवाई उद्धारमार्फत जिल्ला बाहिर पठाइएको छ।
जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराका अनुसार, सुत्केरी बेथा सुरु हुँदा शिशुको टाउको निस्कनुपर्ने स्थानमा हात निस्किएको अवस्था देखिएकाले तत्काल शल्यक्रिया आवश्यक परेको थियो।
तर जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक तथा आवश्यक सर्जिकल उपकरणको अभाव रहेकाले थप उपचारका लागि उनलाई सुविधा सम्पन्न बाहिरी अस्पतालमा रिफर गरिएको हो।
अस्पताल स्रोतका अनुसार, छत्यालको ओ पोजेटिभ रक्तसमूह रहेको र रगतको समेत अभाव देखिएकाले थप जोखिम हुनसक्ने अवस्था थियो। यस कारण समयमै उपचार सुनिश्चित गर्न नेपाली सेनाको सहयोगमा हवाई उद्धार गरिएको जनाइएको छ।
स्थानीयवासीले हुम्ला जस्तो दुर्गम जिल्लामा विशेषज्ञ डाक्टर र आधुनिक स्वास्थ्य उपकरणको अभावका कारण सुत्केरी महिलाले समयमा उपचार नपाउने समस्या बारम्बार दोहोरिने गरेको गुनासो गरेका छन्।