नेकपा माओवादी हुम्लाको छैठौं बैठक सम्पन्न
मंसिर २८, २०८२
हुम्ला । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला समिति हुम्लाको छैठौं बैठक दक्षिण हुम्लाको ताँजाकोट गाउँपालिकामा सम्पन्न भएको छ।
निर्वाचन आयोगमा महासचिव विप्लव सी (नेत्रविक्रम चन्द)को नेतृत्वमा पार्टी दर्ता भएपछि सम्पन्न उक्त बैठक जिल्ला सेक्रेटरी क. विश्वदी सीको अध्यक्षतामा बसेको हो ।
बैठकमा पार्टी पोलिटब्युरो सदस्य एटम सी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै केन्द्रीय सदस्य मिनेस सी, केन्द्रीय सदस्य कृष्ण सिंह तथा सचिवालय सदस्य निर्माण सी अतिथिको रूपमा सहभागी थिए।
बैठकले जिल्लामा कार्यरत केन्द्रीय प्रतिनिधि समिति सदस्यहरूमध्येबाट कृष्ण बोहरा सीलाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
दिनभर चलेको बैठकमा पार्टी केन्द्रीय समिति र कर्णाली प्रदेश समितिका परिपत्रहरू, साथै नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकबाट पारित भई आएको महासचिव विप्लव सीको “विशिष्ट परिस्थितिको विशेष कार्यभार” शीर्षकको राजनीतिक प्रस्ताव वाचन तथा छलफल गरिएको थियो।
बैठकमा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरूले पार्टीको वर्तमान राजनीतिक अवस्था, वैचारिक कार्यदिशा र आगामी संघर्षका कार्यक्रमबारे स्पष्ट धारणा राखेका थिए।
ताँजाकोटमा सम्पन्न बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट कुम्भ बुढा सीलाई उम्मेदवारका रूपमा अनुमोदन गर्ने निर्णय गरेको छ। साथै निर्वाचनलाई लक्षित गर्दै व्यापक तयारी, प्रचार–प्रसार तथा भ्रष्टाचार र दलालीविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय गरिएको नव–निर्वाचित जिल्ला इन्चार्ज बोहराले जानकारी दिए।
बैठकमा सहभागी जिल्ला समिति सचिवालय सदस्यहरू, गाउँ समिति इन्चार्ज तथा सचिवहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुका साथै धारणा र जिज्ञासा राखेका थिए।
जिल्लाको छैठौं बैठकले संगठन सुदृढीकरण, राजनीतिक कार्यदिशा, संघर्षका कार्यक्रम, आर्थिक व्यवस्थापन तथा आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी विभिन्न प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णयहरू गरेको जनाइएको छ।