एकताका आधारमा विगतका कमजोरी सुधार्दै अघि बढ्दैछौँ प्रचण्ड

फिल्को मिसन

मंसिर २८, २०८२
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै पार्टी एकताको अभियान अघि बढिरहेको बताएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले १४ भन्दा बढी राजनीतिक दल एकताबद्ध भई कमजोरी सच्याउँदै अघि बढ्ने संकल्प गरिएको बताए। देशभर देखिएको जनसहभागिताले पार्टीलाई देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विश्वास बढाएको उनको भनाइ थियो।
उनले विसं २०४१–४२ सालदेखि नै पार्टी एकताका विषयमा माधवकुमार नेपालसँग छलफल सुरु भएको स्मरण गराउँदै सशस्त्र द्वन्द्वकालमा समेत संवाद निरन्तर रहेको उल्लेख गरे।
प्रचण्डले कर्णालीलाई सभ्यता, जडीबुटी र जलस्रोतको धनी क्षेत्रका रूपमा उल्लेख गर्दै यहाँको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। साथै, विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण निर्माणमा पार्टी सक्रिय रहेको बताए। एकता सभामा सहसंयोजक माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै जनतालाई देशको वास्तविक मालिक बनाउने लक्ष्यसहित पार्टी अघि बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस