फागुन २१ का लागि हुम्लाका मतदान स्थलः २७ अति संवेदनशील
मंसिर २५, २०८२
हुम्ला ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हुम्ला जिल्लाका २७ मतदान स्थल अति संवेदनशील ठहर गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले भौगोलिक बिकटता र राजनीतिक विवाद उत्पन्न हुने सम्भावनालाई ध्यानमा राखेर ती मतदान स्थललाई अति संवेदनशील वर्गमा राखेको हो।
जिल्लामा यस पटक थपिएका गरी जम्मा ६० वटा मतदान स्थलमध्ये २७ वटा अति संवेदनशील, २१ वटा संवेदनशील र १२ वटा सामान्य मतदान स्थल रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दका अनुसार, निर्वाचन सुरक्षा सुनिश्चित गर्न मतदान स्थलको सुरक्षा व्यवस्थापन यथासम्भव कडा बनाइनेछ ।
जिल्लाका विभिन्न गाउँपालिकामा मतदान स्थलको वर्गीकरण यस प्रकार छः
| गाउँपालिका | कुल मतदान स्थल | अति संवेदनशील | संवेदनशील | सामान्य |
|---|---|---|---|---|
| आदानचुली | 6 | 1 | 5 | 0 |
| चङ्खेली | 8 | 5 | 3 | 0 |
| ताँजाकोट | 7 | 5 | 2 | 0 |
| सर्केगार्ड | 12 | 5 | 4 | 3 |
| खार्पुनाथ | 5 | 2 | 2 | 1 |
| नाम्खा | 11 | 5 | 4 | 2 |
| सिमकोट | 9 | 4 | 2 | 3 |
| जम्मा | 60 | 27 | 21 | 12 |
जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाले भने, “मुख्य रूपमा भौगोलिक बिकटता र राजनीतिक विवादलाई ध्यानमा राखेर मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकृत गरिएको हो। यसअनुसार निर्वाचनको समयमा सुरक्षा व्यवस्थापन पनि कडा बनाइनेछ।”
यस पटक हुम्लामा साठी मतदान स्थल र ६१ मतदान केन्द्र कायम भएका छन्। मंसिर ५ गतेसम्मको तथ्याङ्क अनुसार जिल्लाका मतदाता संख्या ३४ हजार ५०२ रहेको छ। यसअघि २०७९ सालको निर्वाचनमा ५८ मतदान स्थल र ३३ हजार ३०८ मतदाता थिए।