अँध्यारो मुगुको पीडा सुनाउँदै युवाद्वारा ऊर्जा मन्त्रीलाई ‘झरो’ उपहार

फिल्को मिसन

मंसिर २४, २०८२
मुगु। कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुका स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ‘झरो’ (दियालो) उपहार प्रदान गरेका छन्। जिल्लाको गम्भीर विद्युत् अभावप्रति सरकारको ध्यानाकर्षण गराउन युवाद्वारा गरिएको यो प्रतीकात्मक कदमले मुगुको वास्तविक अवस्था उजागर भएको छ।
युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले आज काठमाडौंस्थित मन्त्रालयमा मन्त्री घिसिङलाई ‘झरो’ हस्तान्तरण गर्दै पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। देवकोटाका अनुसार करिब ७० हजार जनसंख्या रहेको मुगुमा स्थायी विद्युत् सेवा पाउने संख्या अहिलेसम्म पनि करिब ३ हजार ५ सयमा मात्र सीमित छ।
रासससँग कुरा गर्दै देवकोटाले भने, “मुगुका अधिकांश नागरिक आजको आधुनिक युगमा पनि सल्लोको काठ, मैनबत्ती र अस्थायी उज्यालोमा निर्भर छन्। विद्यालय, अस्पताल, सञ्चार सेवा, स्थानीय उद्योगदेखि कृषि प्रशोधनसम्म विद्युत् अभावले दैनिक जीवन अत्यन्त कठीन बन्दै गएको छ। यही वास्तविकता मन्त्रीज्यूलाई देखाउन हामीले प्रतीकात्मक रूपमा ‘झरो’ प्रदान गरेका हौँ।”
युवाहरूले बुझाएको पत्रमा मुगुको विद्युतीकरणलाई सामाजिक न्याय, मानव विकास र राष्ट्रिय समावेशीकरणसँग जोडिएको मुद्दाका रूपमा प्रस्तुत गर्दै निम्न माग राखिएका छन् । उनीहरूले मुगुको ठूलो भूभाग अझै राष्ट्रिय प्रसारण लाइनसँग नजोडिएको, विद्युतीय आपूर्ति अस्थिर रहने तथा वितरण संरचना कमजोर रहनु मुख्य चुनौती रहेको उल्लेख गरेका छन्।
युवाहरूले भने,“२२औँ शताब्दीको नेपालमा पनि मुगु अँध्यारोमै छ भन्ने सन्देश सरकारले गम्भीरतापूर्वक लिनुपर्ने समय आएको छ। ऊर्जा क्षेत्रमा मन्त्री घिसिङले देशभर देखाउनुभएको सकारात्मक परिवर्तन अब मुगुसम्म पनि छिट्टै पुग्ने अपेक्षा छ।”
मन्त्री घिसिङले युवासँगको भेटमा एक वर्षभित्र मुगुलाई उज्यालो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको टोलीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस