दुबै क्षतिग्रस्त विद्युत् आयोजना मर्मतका लागि लागत निरीक्षण
मंसिर २१,२०८२
हुम्ला । जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतिग्रस्त दुबै लघु जलविद्युत् आयोजनाको मर्मतका लागि प्रारम्भिक लागत अनुमान निरीक्षण गरिएको छ ।
गत वर्षको बाढीले छहराखेत (अदानचुली–३) पावरहाउस बगाएपछि नयाँ स्थानमा निर्माण गर्नुपर्ने भएको छ। कुकुरफल्ना (अदानचुली–४) आयोजनामा भने मुख्य संरचना केही सुरक्षित ठाउँमा सार्नुपर्ने र पावरहाउसको पनि मर्मत आवश्यक देखिएको छ ।
गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले भने, “विद्युत् नभएको ठाउँमा बास बसीरहेका नागरिकका लागि छिटो मर्मत हुनु जरुरी छ। लागत निरीक्षण पछि काम सुरु गर्ने तयारी छ। ”
बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक टोलीले निरीक्षण पूरा गरेपछि अन्तिम स्टिमेट तयार हुनेछ र केन्द्रसँगै गाउँपालिकाले मर्मत कार्य सुरु गर्नेछ।
छहराखेत आयोजनाको पावरहाउस नयाँ स्थानमा सार्दा पहिलेभन्दा केही कम उत्पादन हुने प्राविधिक अनुमान छ। कुकुरफल्ना आयोजनामा पहल गरिरहेका नेताहरू हुन् – एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हस्तबहादुर शाही र छहराखेतमा नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेरा । दुवैले निरन्तर मर्मतका लागि पहल गर्दै आएका छन्।