खोस्त हवाई हमला विवादः पाकिस्तान ‘दोषरहित’ भन्छ, तालिबान ‘उचित प्रतिकार’

फिल्को मिसन

मंसिर १०, २०८२
एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले खोस्त प्रान्तमा रातभर भएका घातक हवाई आक्रमणका लागि पाकिस्तानलाई दोषारोपण गर्दै यसको ‘उचित जवाफी प्रतिक्रिया’ आउने चेतावनी दिएको छ। पाकिस्तानले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार खोस्तमा भएको हवाई हमलामा नौ बालबालिका र एक महिलाको मृत्यु भएको छ। उनले एक्समा पोस्ट गर्दै पाकिस्तानी सेनाले ‘स्थानीय नागरिकको घर’ लक्षित गरेको दाबी गरेका हुन्।
एएफपीका एक संवाददाताका अनुसार सीमानजिकैको प्रभावित क्षेत्रका स्थानीयहरू भत्किएका घरका भग्नावशेषमा पुरिएका आफन्तको खोजी गर्दै थिए। जिगे मुगलगाई गाउँका एक बासिन्दा साजिदुल रहमानले भने, “आम नागरिकमाथि बम नबर्साइयोस्, किनकि उनीहरूले कुनै गलत काम गरेका छैनन्।”
खोस्त प्रान्तका गभर्नरका प्रवक्ता मुस्तगफिर गुरबुजले ड्रोनसहितका विमानबाट बम वर्षाइएको बताए। मुजाहिदले कुनार र पक्तिका नजिकका सीमावर्ती क्षेत्रमा पनि आक्रमण भएको र कम्तीमा चार जना घाइते भएको जानकारी दिए।
मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तान यस उल्लङ्घनको कडा निन्दा गर्दछ। आफ्नो हवाई क्षेत्र र जनताको रक्षा गर्नु हाम्रो वैधानिक अधिकार हो, र हामी उचित समयमा प्रतिक्रिया गर्नेछौँ।”

प्रतिक्रिया दिनुहोस