राष्ट्रपति रनिङ शिल्ड:तेक्वान्दोकी दीपा जैसीको ‘ह्याट्रिक’

फिल्को मिसन

जेठ ३०,२०८२

काठमाडौं । कैलालीको धनगढीस्थितएरिष्टो इङ्लिस हाई स्कुलकी छात्रा दीपा जैसीले लगातार तीन स्वर्ण हात पारेकी छन्। १५ औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै महिला ४४ केजी तौल समूहको तेक्वान्दो प्रतियोगितामा उनले लगातार तीनपटक स्वर्णपदक प्राप्त गरेकी हुन्। उनले १३ औँ देखि १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा शिल्डसम्म लगातार तीन पटक प्रथम स्थान प्राप्त गरी ‘ह्याट्रिक’ गर्न समेत सफल भएकी छिन्।
प्रतियोगितामा एरिष्टोकै योगेश चौधरीले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै वुशु खेलमा नान् छवान पुरुष समूहमा दोस्रो स्थान हात पारी रजत पदक हासिल गरेका छन्। यसैगरी एरिष्टो स्कुलकै अर्की छात्रा रचना बोहराले काठमाडौँमा सम्पन्न यू( १४ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ मा ८०० मिटर दौडमा कास्य पदक प्राप्त गरिन्।यसरी एउटै स्कुलमा अध्ययन गरिरहेका दुई छात्रा र एक छात्रले सुदूरपश्चिम प्रदेशका लागि एक स्वर्णसहित तीन पदक प्राप्त गरेकोमा खुशी लागेको विद्यालयका शिक्षक तेजराज कापडीले बताए। विद्यालयकी प्रिन्सिपल शान्ति अधिकारीले तीनै जना खेलाडीले सुदूरपश्चिमको खेलकुदलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताइन्।

प्रतिक्रिया दिनुहोस