त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

फिल्को मिसन

साउन २०,२०८०
काठमाडौँ ।नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को जित निकालेको छ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय प्रतिस्पर्धामा रवाफिलो जित आत्मसात गरेको हो। पुलिसको जितमा सुवास बम र नवीन ओलीले दुई गोल तथा निश्चिल मगर र लक्ष्मण थामीले समान एक गोल गरे।

खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए तर ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए। दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल गर्‍यो।

५२ औं मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे। अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रवाफिलो जित निकाल्यो। सुवासले ८१औं मिनेट र ९०औं मिनेटमा गोल गरेका थिए।

खेलको इन्जुरी समयमा निश्चिल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको अर्को खेलमा संकटा क्लबले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो। शनिवार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले।​

एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो। कुल १० टोली सहभागी युथ लिग आगामी ६ महिनासम्म चल्नेछ। लिगमा मनाङ मर्स्याङ्दी र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेण्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र क्लबले प्रतिस्पर्धा गर्दै छन्।

लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा भइरहेका छन्। ती खेलहरू शनिवार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस