जडीबुटी व्यवस्थापन सहज बनाउन हुम्लामा पञ्चवर्षीय योजना निर्माण हुँदै

फिल्को मिसन

चैत १५, २०८२
हुम्ला — हुम्ला जिल्लामा जडीबुटी व्यवस्थापन तथा वन स्रोतको दिगो उपयोगलाई व्यवस्थित बनाउन पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना निर्माण प्रक्रिया अघि बढाइएको छ। वन तथा वन्यजन्तु संरक्षणमा प्रभावकारी योगदान पु¥याउने उद्देश्यका साथ डिभिजन वन कार्यालय हुम्लाले योजना निर्माण कार्य सुरु गरेको हो।

हालसम्म कार्ययोजना अभावका कारण सङ्कलित जडीबुटी निकासी गर्न अन्य जिल्लाबाट छुट पुर्जी लिनुपर्ने बाध्यताब रहेको थियो। यसका साथै समयमै निकासी हुन नसक्दा ठूलो परिमाणमा जडीबुटी कुहिने समस्या पनि देखिँदै आएको थियो। नयाँ कार्ययोजना निर्माण हुने निश्चित भएसँगै जडीबुटी व्यवसायीहरूमा उत्साह थपिएको छ।

डिभिजन वन कार्यालय हुम्लाका प्रमुख महेश कुमाईका अनुसार आगामी वैशाखको अन्तिम सातासम्म कार्ययोजना तयार गरिने लक्ष्य राखिएको छ। योजना निर्माणका लागि करिब १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कार्ययोजना लागू भएसँगै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने र हाल देखिएका निकासीसम्बन्धी समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ।

उनका अनुसार योजना कार्यान्वयनपछि जटामासी मात्रै वार्षिक करिब ३ लाख ४० हजार केजीसम्म जिल्लाबाट निकासी गर्न सकिनेछ। साथै जटामासीसहित ५० भन्दा बढी अन्य जडीबुटीको निकासी पनि सहज हुने विश्वास गरिएको छ।

हाल कार्ययोजना नहुँदा विशेषगरी जटामासी र कुट्की निकासीमा समस्या भइरहेको छ। नयाँ योजना बन्ने निश्चित भएपछि व्यवसायीहरू उत्साहित भएका छन्। जडीबुटी व्यवसायी संघ हुम्लाका अध्यक्ष राजबहादुर शाहीले योजना छिटो निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

कार्ययोजना निर्माणको जिम्मा पाएको नेचुरल रिसोर्सेस एण्ड इन्भारोमेन्टल म्यानेजमेन्ट सेन्टर प्रालिले आयोजना गरेको राय, सल्लाह तथा सुझाव सङ्कलन कार्यक्रममा सरोकारवालाहरूले काम छिटो सम्पन्न गर्न आग्रह गरेका छन्। सो क्रममा प्राविधिक टोलीसहित डा. नागेन्द्र यादव जिल्लामा पुगेका थिए।

अर्का व्यवसायी छिरिङ लामाका अनुसार यस वर्ष सङ्कलित जडीबुटी, विशेषगरी जटामासी र कुट्की, हुम्लाबाट छुट पुर्जी नपाउँदा कतिपयले छिमेकी जिल्लाबाट पुर्जी लिएर निकासी गर्नुपरेको छ भने धेरै जडीबुटी कुहिएको छ। केही व्यवसायीले भने जडीबुटी सुरक्षित राख्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस