अत्यधिक रक्तस्रावपछि सुत्केरी महिलाको हवाई उद्धार
अत्यधिक रक्तस्रावपछि सुत्केरी महिलाको हवाई उद्धा
चैत ७, २०८२
हुम्ला ।हुम्लाको चंखेली गाउँपालिका–५, पिप्लाङ गाउँकी एक सुत्केरी महिलालाई अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
पिप्लाङ निवासी ३८ वर्षीय सुरेन्द्रबहादुर शाहीकी श्रीमती ३४ वर्षीया वासना शाहीलाई चैत ६ गते बिहानदेखि सुत्केरी व्यथा लागेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई सोही दिन साँझ जिल्ला अस्पताल हुम्ला पुर्याइएको थियो।
जिल्ला अस्पतालमा गरिएको परीक्षणपछि त्यहाँ सुरक्षित रूपमा सुत्केरी गराउन सम्भव नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा थप उपचारका लागि सुर्खेत पठाउने निर्णय गरिएको हो।
नेपाली सेनाको NA–055 नम्बरको हेलिकप्टरमार्फत सिमकोट विमानस्थलबाट उनको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
सुत्केरीपछि अत्यधिक रक्तस्राव भई शरीरमा रगतको मात्रा घट्दै गएपछि उनको अवस्था गम्भीर बनेको थियो। आपतकालीन अवस्थामा गरिएको हवाई उद्धारले उनको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
उद्धारका क्रममा उनका आफन्त सीता शाही समेत साथमा रहेकी थिइन्।