विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छ, सभापति शेखर कोइराला बन्नेः सुनिल शर्मा
पुस २८, २०८२ सोमबार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जारी विशेष महाधिवेशनबाट नीतिगत निर्णय मात्रै पारित हुने दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा डा. शेखर कोइरालाa पक्षधरहरूको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशन नेतृत्व चयनका लागि नभई नीतिगत विषयमा केन्द्रित हुने बताए ।
आइतबारदेखि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । तर संस्थापन पक्षसहित शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन्। उता डा. शेखर कोइराला पक्षधर नेताहरूले छुट्टै भेला आयोजना गरेका छन् । भेलामा सहभागी नेताहरूले पार्टी फुट्न नदिन पहल गर्न शेखर कोइरालालाई आग्रह गरेका छन् । सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. सुनिल शर्माले पार्टी नफुटोस् भन्ने चाहना सबैको रहेको बताए ।
शेखर कोइरालाले आत्मसमर्पण गरेको भन्ने भ्रम फैलाइएको उल्लेख गर्दै शर्माले पार्टी एकताका लागि दुवै पक्षका नेताहरूसँग संवाद गर्ने प्रतिबद्धता कोइरालाले जनाएको जानकारी दिए। उनले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर पक्षको रहेकामा अहिले उक्त माग नै ‘हाइज्याक’ गरिएको आरोप लगाए ।
डा. सुनिल शर्माले आगामी वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट शेखर कोइराला नेपाली कांग्रेसको सभापति बन्ने दाबी गरे। विशेष महाधिवेशनबाट भने नीति मात्रै पारित हुने उनको भनाइ छ ।