हुम्लाबाट एमालेका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
मंसिर १५, २०८२
हुम्ला। नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू सर्वसम्मतः चयन गरेको जनाएको छ । जिल्लाभित्र विभिन्न पदका लागि सक्रिय उम्मेदवारी देखिए पनि अन्ततः आन्तरिक सहमति जुट्दै सबै प्रतिनिधि सर्वसम्मत रूपमा टुंगो लगाइएको जिल्ला सचिव तिर्थराज बोहराले जानकारी दिए ।
सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिमध्ये खुला तर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, पार्टी सचिव तिर्थराज बोहरा र लोकबहादुर हमाल छन् । त्यस्तै, महिला तर्फ प्रतिमा लामा र विमला कुमारी शाही तथा दलित तर्फ पर्वत सुनार प्रतिनिधि चयन भएका छन्।
पुरुष खुला र महिला प्रतिनिधि चयनमा केही विवाद उत्पन्न भए पनि अन्ततः सर्वसम्मत सहमतिमार्फत प्रक्रिया सम्पन्न भएको सचिव बोहराले बताए । उनका अनुसार पार्टीभित्र संगठनात्मक एकता, सहकार्य र विश्वासको वातावरणसहित प्रतिनिधि छनोट टुंगो लागेको हो ।
सचिव बोहराले भने, “पार्टीलाई लक्ष्य बनाएर देश–विदेशबाट दबाब र चुनौतीहरू बढिरहेका बेला एमाले संगठन एकता र दृढताका साथ अघि बढिरहेको छ ।”
महाधिवेशनमा सहभागी हुम्लाका प्रतिनिधिहरूले राष्ट्र, राष्ट्रियता र संगठन सुदृढीकरणका पक्षमा स्पष्ट प्रतिबद्धता जनाएको जिल्ला कमिटीले बताएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुँदैछ। पार्टी नेतृत्वले यसलाई संगठन मजबुत पार्ने र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ ।