अदानचुलीमा निःशुल्क आँखा शिविर, ५२० जनाले जाँच गराए
मोतिबिन्दु तथा आँखासम्बन्धी समस्यामा निशुल्क उपचार, बालबालिका र ज्येष्ठ नागरिक समेत लाभान्वित
मंसिर १३, २०८२
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकाको तल्लो क्षेत्रमा पर्ने श्रीनगर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको तीन दिने निःशुल्क आँखा शिविरमा ५२० जनाले आँखा परीक्षण गराएका छन् ।
शिविरमा ४० जनाको मोतिबिन्दु र १ जनाको टेरिजियमको निःशुल्क शल्यक्रिया गरिएको स्वास्थ्य शाखा संयोजक बिनोद बुढाले जानकारी दिएका छन् । नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा तथा हिमालय आँखा अस्पताल पोखराको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतिबिन्दु शल्यक्रिया र चस्मा वितरण गरिएको थियो ।
शिविरले अदानचुलीका साथै मुगुको सोरु, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिकाका सेवाग्राहीलाई पनि लक्षित गरी सेवा प्रदान गरेको थियो ।
हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीको नेतृत्वमा चिकित्सक टोलीले सेवा दिएका थिए । डा. पराजुलीका अनुसार, मोतिबिन्दु पुष्टि भएका सबै बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। शिविरबाट बालबालिका, ज्येष्ठ नागरिक र विभिन्न आँखासम्बन्धी समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् ।
न्यून दृष्टि भएका बालबालिका र फरक क्षमता भएका व्यक्तिहरूका लागि आवश्यक उपचार र चस्मा वितरण समेत गरिएको थियो । शिविर सञ्चालनमा नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रको पनि समन्वय रहेको थियो ।