तीन जिल्लामा हिमाली उपचार प्रणालीको खोज–अध्ययन सुरु

फिल्को मिसन

मंसिर १४, २०८२
खुर्खेत । कर्णाली प्रदेशका तीन हिमाली जिल्ला—डोल्पा, मुगु र हुम्लामा जडीबुटी तथा परम्परागत हिमाली उपचार पद्धतिबारे प्रदेश सरकारले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको छ ।
सामाजिक विकास मन्त्रालयको पहलमा सुरु गरिएको यस अध्ययनका लागि तीनवटै जिल्लामा छुट्टाछुट्टै विज्ञ टोली खटाइएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार, हिमाली भेगमा परम्परागत रूपमा चल्दै आएको जडीबुटी तथा आम्ची उपचार पद्धति अहिले पनि धेरैलाई उपचार विकल्पको रूपमा प्रयोग हुँदै आएको छ। त्यसैले यसको संरक्षित विकास र औपचारिक मान्यता दिन अनुसन्धान आवश्यक भएको हो ।
मन्त्री भण्डारीका अनुसार खटाइएका टोलीहरूले हिमाली उपचार पद्धतिमा प्रयोग हुने जडीबुटी, उपचारका विधि तथा यस पेशामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम गरिरहेका छन्। टोलीले तीनै जिल्लाको पृथक् प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाउनेछ ।
उनले थपे, परम्परागत उपचार गर्ने व्यक्तिहरूको रोस्टर निर्माण गर्ने प्रक्रिया अनुसन्धानपछि अघि बढाइनेछ। अध्ययन सम्पन्न भएपछि कर्णाली प्रदेशस्तरमा स्थानीय उपचारक तथा सरोकारवालाहरूको सहभागितामा सम्मेलन पनि आयोजना गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस