महिला केन्द्रित नीति सम्बन्धी सरोकारवालासँग स्थानीय संवाद कार्यक्रम सम्पन्न
मंसिर ११, २०८२
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा महिला केन्द्रित नीति सम्बन्धी सरोकारवालासँग स्थानीय संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युएन वुमनको सहयोग तथा आदिवासी महिला सञ्जाल हुम्लाको आयोजनामा गरिएको हो ।
समाजिक मान्यता परिवर्तनमार्फत लैङ्गिकतामा आधारित हिंसा रोकथाम गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा महिला अधिकारसम्बन्धी विद्यमान कानुनी व्यवस्था, बिवेध, सामाजिक न्याय, समानता, जातीय छुवाछूत लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रमका सहजकर्ता तुन्डुप लामाले महिला केन्द्रित नीतिहरू, कानुनी प्रावधान तथा वर्तमान अवस्थाबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
सिमकोट गाउँपालिका उपप्रमुख शुसिला रोकायाले विगतको तुलनामा महिलाहरू सशक्त बन्दै गएको उल्लेख गर्दै अझै पनि समाजमा जातीय छुवाछुत र विभेद अवस्थित रहेकाले यसलाई हटाउन जनचेतना विस्तार महत्वपूर्ण हुने धारणा राखिन् ।
उपप्रमुख रोकायाको अध्यक्षत्वमा, परियोजनाबारे जानकारी सञ्चारकर्मी छपाल लामाले संचालन गरेका कार्यक्रममा आदिवासी महिला सञ्जाल हुम्लाका सदस्य तथा बालमन्दिर माविका शिक्षक छतुप लामाले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । सो अवसरमा सहभागी वक्ताहरूले महिला अधिकारका लागि सबै पक्षले एकजुट भई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।