औषधी अभावले बिरामीहरू उपचारविनै फर्किन बाध्य
मंसिर १०, २०८२, मंगलवार
हुम्ला । सिमकोट गाउँपालिकाका स्वास्थ्य चौकीहरूमा औषधी अभावका कारण बिरामीहरूले उपचार नपाएर फर्किनुपर्ने अवस्था देखिएको छ । विभिन्न वडामा सञ्चालन भइरहेका स्वास्थ्य संस्थामा आवश्यक औषधी नहुँदा उपचारका लागि आएका बिरामी खाली हात फर्किएका छन् ।
सिमकोट–२ की ४० वर्षीया बाँचुल्ली बोहराले परिवार नियोजनका लागि ढिपो (अस्थायी साधन) लगाउन स्वास्थ्य चौकी पुग्दा औषधी सकिएकाले सेवा नपाएको बताइन् । उनले आफू जस्तै चार महिला त्यही कारणले खाली हात फर्कनु परेको अनुभव सुनाइन् ।
स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराका अनुसार, आइब्रोफिन, आँखा दुखाइको औषधी, सिप्रो, जिब्रोजेल र चिलाउने रोगको औषधी नभएकाले बिरामीलाई उपचारविनै फर्काउन बाध्यता रहेको छ। प्रत्येक महिना हुने गर्भ जाँच कार्य पनि साउन यता सम्पन्न हुन सकेको छैन ।
सिमकोट–६ की ६५ वर्षीया देबकी रोकायाले गाउँको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गएर पनि आवश्यक औषधी नपाउँदा फिर्ता हुनुपरेको बताइन् । त्यहाँ रक्तचाप, प्रेशर, दमलगायतका दीर्घकालीन रोगका औषधी अभावमा रहेका छन्। स्वास्थ्य केन्द्रका प्रमुख राजु रावतले औषधी अभाव भएको स्वीकार गर्दै समस्या समाधानको प्रयास भइरहेको भए पनि हालसम्म पूर्ण समाधान हुन नसकेको जानकारी दिए ।
सिमकोट गाउँपालिकामा १२ वटा स्वास्थ्य संस्थाहरू रहेका छन् । तीमध्ये अधिकांशमा औषधी अभाव देखिएको छ। स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीका अनुसार, औषधी खरिद योजना तयार भए पनि प्रशासकीय व्यवस्थापनको कमीका कारण अभाव भएको हो । उनले भण्डारणमा रहेको पुरानो औषधी प्रयोग भइरहेको र हाल औषधी खरिद प्रक्रिया अघि बढेको जानकारी पनि दिए ।