आरोही छन्त्याललाई गृहजिल्लामा स्वागत

भक्त राज ऐडी

मंसिर ०९, २०८२a
हुम्ला । सगरमथाको सफल आरोहण गरेका दन्तबहादुर छन्त्याललाई सोमबार गृहजिल्ला हुम्लामा स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ हुम्ला शाखाले सिमकोट विमानस्थलमा खदा लगाएर उनको सम्मान गरेको हो । स्वागत टोलीको नेतृत्व महासंघका उपाध्यक्ष छपाल लामाले गरेका थिए ।
सर्केगार्ड गाउँपालिका–७ रोडिकोटका निवासी छन्त्यालले गत जेठ ४ गते बिहान ९ः२० बजे सगरमथाको शिखर सफलतापूर्वक आरोहण गरेका थिए । आरोहणपछि पहिलोपटक हुम्ला आएका उनलाई स्थानीयस्तरमा पहिलो औपचारिक सम्मान प्रदान गरिएको हो ।
अठार वर्षअघिदेखि सगरमथा चढ्ने सपना बोकेका छन्त्याल हाल सशस्त्र प्रहरी नायब निरीक्षकका रूपमा प्रधान कार्यालय हलचोकमा कार्यरत छन् । उद्धार तथा चुनौतीपूर्ण कार्यमा लामो अनुभवले आफूलाई सगरमथा आरोहणतर्फ प्रेरित गरेको उनले बताउँदै सम्मानप्रति आभार व्यक्त गरे ।
स्वागत कार्यक्रममा महासंघका प्रेस युनियनका राज शाही, महासंघका सहसचिव भक्तराज ऐडी तथा सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस