लिमीवासीको दवाबः माग सम्बोधन नभएसम्म घर नफर्कने चेतावनी

फिल्को मिसन

मंसिर ८, २०८२
सिमकोट । लिमी क्षेत्रका तीन प्रमुख बस्ती—तील,हल्जी र जाँङ—का बासिन्दाले लामो समयदेखि थन्किँदै आएको विकासका मुद्दा लिएर पहिलोपटक ठूलो संख्यामा सदरमुकाम सिमकोट आइपुगेका छन् ।
विकासका आधारभूत सुविधा नपाएको गुनासो गर्दै लिमीका तीन बस्तीका बासिन्दाले सिमकोट पुगेर माग सम्बोधन नभएसम्म गाउँ नफर्कने चेतावनी दिएका छन् । उनीहरूले प्रजिअ टेककुमार रेग्मीलाई मागपत्र बुझाउँदै ‘लिमी सुनसान हुन्छ, यदि राज्यले आजै सुन्दैन भने’ भन्ने कडा संदेश दिएका छन् ।


हल्जी गाउँमा एक साता अघि बसेको संयुक्त बैठकले सदरमुकाममा डेलिगेशन पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ५० जनाको टोली सिमकोट आइपुगेको हो । टोलीका अनुसार सञ्चार सेवा अवरुद्ध, सडक र पुल अभाव, खाद्यान्न संकट, स्वास्थ्य र शिक्षा क्षेत्र अत्यन्त कमजोर रहेको कारण उनीहरूले राज्यको ध्यानाकर्षण गराउन बाध्य भएका हुन् ।
जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमी अझै आधारभूत विकासबाट टाढा रहेको बताउँदै, “यति पछि परेका गाउँमा मानिस बस्नै कठिन हुँदै गएको छ। समस्या समाधान नभए भविष्यमा लिमी सुनसान बन्ने खतरा छ,” भने ।


टोलीले हिल्सा–सिमकोट सडक, पूर्वाधार विकास कार्यालय, नेपाल टेलिकम लगायतका कार्यालय प्रमुखसँग पनि समस्या राखेको छ । लिमीबाट यति ठूलो संख्यामा डेलिगेशन पहिलोपटक सिमकोट आइपुगेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रजिअ रेग्मीले टोलीका माग जायज रहेको स्वीकार गर्दै “सम्बन्धित निकायलाई बढी जिम्मेवार बनाउँदै माग पूरा गर्न पहल गर्छु,” भन्दै आश्वासन दिएका छन् । नाम्खा गाउँपालिका–६ अन्तर्गतका लिमीवासीको यो संयुक्त पहललाई क्षेत्रको विकासका लागि मुकाम सिमकोटसम्म डेलिगेशन लिएर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस