हुम्लामा पाँच करोडको अवैध भेप प्रकरण : ६ जना अभियुक्त, मतियारमा नि.प्रमुख शाही
कार्तिक २७, २०८२
सुर्खेत ।राजस्व अनुसन्धान विभागले अवैध भेप (इलेक्ट्रोनिक चुरोट) ओसारपसार गरेको आरोपमा हुम्लाका ६ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा अभियोगपत्र दायर गरेको छ । सोही प्रकरणमा नायब प्रमुख लोकजङ्ग शाहीसहित अन्य ६ जनालाई मतियारको रूपमा संलग्न भएको विभागले पुष्टि गरेको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार, आरोपितहरूले कानुनअनुसार नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व नतिरी ३९,९०० थान इलेक्ट्रोनिक चुरोट नेपाल भित्र्याएको अनुसन्धानमा देखिएको छ ।
मुद्धा दायर हुनेमा हुम्लाको सिमकोट–३ का २७ वर्षीय पोन छतेन लामा तामाङ, मुगुको खत्याड–५ का ३२ वर्षीय जनकबहादुर रोकाय र २७ वर्षीय भुमी रोकाय, नाम्खा–१ का ३९ वर्षीय पासाङ (प्रमोद) लामा, ४८ वर्षीय पेमा छिरिङ लामा र ४२ वर्षीय कुन्साङ दोर्जी लामा रहेका छन् ।
उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरेको ठहर गर्दै दफा ४ ख, ४ छ र ४ झ अनुसारको कसुरमा मुद्दा चलाइएको छ । प्रतिवादीमाथि पाँच करोड ६६ लाख ६० हजार ९ सय २२ रुपैयाँ बिगो कायम गरी सो रकम जफत गर्ने र शत प्रतिशत जरिवाना लगाउने माग गरिएको छ ।
अवैध भेप ढुवानीमा सहयोग गरेको प्रमाणित भएपछि, सवारी धनी छिटुप तामाङ, नायब डिभिजन वन अधिकृत लोकजङ्ग शाही, फरेष्टर सन्तोष खत्री, वन रक्षक कृष्णबहादुर हमाल, सवारी चालक भुमी रोकाय र सहयोगी जनबहादुर रोकायलाई मतियारका रूपमा समेत सजाय माग गरिएको छ ।
मतियारका रूपमा संलग्नलाई आधा सजाय हुने प्रावधानअनुसार,नि.प्रमुख शाहीसहित ६ जनालाई २ करोड ९८ लाख ३० हजार ४६१ रुपैयाँ राजस्व दावी गरिएको छ ।
अवैध भेप ढुवानीमा प्रयोग भएको ना.अ.प.आ.८३ नम्बरको सवारीसाधन पनि जफत गर्न माग गरिएको छ,राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका प्रमुख कृष्ण प्रसाद शर्माले जानकारी दिए ।