हुम्लामा सात दिनपछि विद्युत सेवा पुनः सञ्चालन
कार्तिक ३०,२०८२
हुम्ला । सदरमुकाम सिमकोटस्थित हिल्दुम विद्युत वितरण केन्द्रको प्रसारण लाइन र पावर हाउस मर्मतका कारण सात दिनदेखि रोकिएको विद्युत सेवा आइतबार दिउँसो ३ बजेदेखि पुनः सुचारु भएको छ ।
कार्तिक २३ मा सञ्चालन रोकिएको विद्युतलाई प्रारम्भमा पाँच दिनमा सुचारु गर्ने योजना थियो। तर पावर हाउसको ओभरफ्लो, इन्टेक तथा फरबे प्रणालीमा थप समस्या देखिएपछि मर्मत दुई दिन लम्बिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले जानकारी दिएका छन् ।
विद्युत अवरुद्ध हुँदा सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै वडामा उद्योग, कार्यालय, बैंक, सञ्चार सेवा, व्यवसाय तथा सामुदायिक रेडियोहरू समेत प्रभावित भएका थिए ।
हिल्दुम विद्युत वितरण केन्द्रबाट झन्डै तीन हजार उपभोक्ता लाभान्वित हुने भएकाले अवरोधका कारण जनजीवन ठप्पजस्तै बनेको थियो। आपूर्ति रोकिँदै गर्दा केन्द्रले अग्रिम सूचना जारी गर्दै उपभोक्तालाई आवश्यक तयारी गर्न आग्रह गरेको थियो ।