लोपोन्मुख रैथाने बाली उत्पादन र बजारीकरणमा समस्या

भक्त राज ऐडी

    हुम्लाका कृषकको गुनासो “उत्पादन गर्छौं, तर बजार छैन“
कार्तिक २२ २०८२
सिमकोट । हुम्लामा लोपोन्मुख रैथाने बालीको उत्पादन भए पनि त्यसको बजारीकरण नहुँदा स्थानीय कृषकहरू समस्या भोग्न बाध्य भएका छन् । सिमकोट गाउँपालिका–३ र ४ का कृषकहरूले कात्तिक २२ गते आयोजित कृषि मेला तथा प्रदर्शनीका क्रममा यस्तो गुनासो पोखेका हुन् ।
सेल्मुकाङ कृषक समूहले शनिबार आयोजना गरेको मेलामा कृषकहरूले खामु, चुली, ढँटेलो, ओखर, तोरी, सवाँलेको तेल, कालो र माले सिमी, गहुँ र फापरको पिठो, स्याउ, फर्सी, घोडा मच्चा, र अर्गानिक महलगायतका रैथाने उत्पादनहरू प्रदर्शन गरेका थिए।
कार्यक्रम युएनडीपी र बुद्धि ट्री फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न भएको थियो। स्थानीय कृषक कुन्जो तान्बा लामाले रैथाने बालीबाट बनेका परिकार र महले स्थानीय उत्पादनको पहिचान बलियो बनाउने बताए ।
सिमकोट–३ का बरगाउँ, लाङ्दुक, तोर्पा, हुटिक, लिमाटाङ र सिमकोट–४ का बुराउँसेका कृषकहरूले मेलामा सहभागिता जनाएका थिए। कृषक छिरिङ लामाले उत्पादन प्रशस्त भए पनि बजार अभावले आम्दानीमा असर परेको गुनासो गरे ।
“हामी उत्पादन गर्छौं, तर बजार छैन। सरकारले सहयोग गर्नुपर्छ,”— छिरिङ लामा, स्थानीय कृषक बुद्धि ट्री फाउन्डेसन नेपालकी जिल्ला परियोजना प्रमुख छेतेन डोल्मा लामाले कृषि क्षेत्रमा महिलालाई आर्थिक रूपमा सशक्त बनाउनुपर्ने बताइन् । त्यस्तै, सहभागिता निर्धारण प्रशिक्षक घनश्याम नगरकोटीले रैथाने बालीलाई गुणस्तरीय बनाएर जिल्ला बाहिर निर्यात गर्न सरकारी सहयोग आवश्यक रहेको औंल्याए ।
सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले गाउँपालिकाले रैथाने बाली र महको बजार विस्तारमा सहयोग गर्दै आएको जानकारी दिइन् । “उत्पादनसँगै मूल्य सूची र गुणस्तरमा कृषकहरुले ध्यान दिनुपर्छ,” उपाध्यक्ष रोकायाले बताइन् सिमकोट गाउँपालिका मेलामा सहभागिता जनाएका कृषक समूहहरूलाई मूल्याङ्कनका आधारमा पुरस्कार वितरण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस