सिमकोट गाउँपालिकामा उत्कृष्ट बिधार्थीहरु पुरस्कृत
कार्तिक २२, २०८२
हुम्ल । सिमकोट गाउँपालिकाले शैक्षिक सत्र २०८१ को गाउँपालिका स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने चार जना विद्यार्थीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । गाउँपालिकाद्वारा आयोजना गरिएको प्रथम अध्यक्ष कप प्रतियोगिताको अवसरमा शनिबार एक विशेष समारोहका बीच विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार कक्षा आठका ३सय ११ जना विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहनका रूपमा सम्मान गरिएको बताए ।
बालमन्दिर माध्यमिक विद्यालयका दिवाकर बोहराले ३.८५ जीपीए ल्याएर प्रथम स्थान हासिल गरे । कैलाश मावि डाँडाफयाका ज्ञानेन्द्र शाही र मानसरोवर माविका सञ्जीव ऐडीले समान ३.६८ जीपीए ल्याएर द्वितीय स्थान प्राप्त गरे ।त्यस्तै बालमन्दिर माविकी अरुणिमा पूनमगरले ३.६६ जीपीए ल्याएर तृतीय स्थानमा परेकी छन् ।
पुरस्कार स्वरूप प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले क्रमशः रु. २५,०००, रु १०,०००. ८,००० र रु. ६,५०० नगद तथा प्रमाणपत्र प्राप्त गरे ।
पुरस्कार गाउँपालिका उपाध्यक्ष शुशिला भाम रोकाया र जिल्ला समन्वय समितिकी प्रवक्ता सरिता रावतले प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।