कर्णाली राजमार्ग सञ्चालनको मागसहित हुम्लाका नागरिक आन्दोलनमा

फिल्को मिसन

२०८३ जेठ २९गते शुक्रबार
सिमकोट । हुम्ला बाजुरा–हुम्ला सीमा क्षेत्रमा रहेको रानीसैन विवाद अझै समाधान हुन नसकेको अवस्थामा बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सडक अवरुद्ध गरेपछि हुम्लाका नागरिक आन्दोलनमा उत्रिएका छन्।

कर्णाली राजमार्ग सञ्चालनको माग गर्दै हुम्लावासीले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, यात्रु आवागमन तथा जिल्लाको समग्र जनजीवन प्रभावित भएको भन्दै उनीहरूले तत्काल सडक सञ्चालन गर्न माग गरेका छन्।

आन्दोलनरत पक्षले प्रशासनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सडक खुलाउन पहल गर्न आग्रह गरेका छन्। आन्दोलनका क्रममा उठाइएका मागका विषयमा हाल आन्दोलनकारी पक्ष र जिल्ला प्रशासन कार्यालयबीच छलफल गरि प्रधानमन्त्री कार्यालयमा पठाएको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनु भयो ।
रानीसैन क्षेत्रको सीमा विवाद लामो समयदेखि समाधान हुन नसक्दा बेला–बेलामा दुवै जिल्लाका नागरिकबीच तनाव उत्पन्न हुँदै आएको छ। पछिल्लो सडक अवरोधका कारण हुम्लाको आपूर्ति व्यवस्था र आवागमनमा प्रत्यक्ष असर परेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस