आर्थिक गणना सफल बनाउन हुम्लामा सरोकारवालाबीच अन्तरक्रिया
चैत १७ गते, हुम्ला।
राष्ट्रिय आर्थिक गणना–२०८२ सफल बनाउन हुम्लामा सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

जिल्ला आर्थिक गणना कार्यालय, हुम्लाद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले सत्यतथ्य र विश्वसनीय रूपमा आर्थिक विवरण तथा तथ्यांक सङ्कलन गर्नुपर्नेमा जोड दिएका छन्। प्रमुख जिल्ला अधिकारी टेककुमारा रेग्मीले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले यसको सफलताका लागि सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले मुलुकको दीर्घकालीन नीति तथा योजना निर्माणमा आर्थिक गणनाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
हुम्ला जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले आर्थिक गणनाबाट प्राप्त तथ्यांकले संघ, प्रदेश र स्थानीय तहका सरकारलाई नीति निर्माण तथा योजना तर्जुमामा ठोस आधार प्रदान गर्ने धारणा राख्नुभयो। उहाँले सबै गाउँ–वस्तीबाट यथार्थपरक आर्थिक तथ्यांक सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो।

हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले जिल्लाभित्रका सबै उद्योग, व्यवसाय तथा प्रतिष्ठानलाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो। आर्थिक गणनालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन सङ्घले आवश्यक समन्वय र सहयोग गर्ने उहाँको भनाइ थियो।
नेपाल पत्रकार महासङ्घ, हुम्लाका अध्यक्ष राजन रावतले आर्थिक गणनाबारे समुदायमा विश्वास र सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले गणना सफल पार्न महासङ्घ सहकार्य गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
कार्यक्रममा कार्यालय प्रमुख सुरेन्द्र प्रसाद पन्थले आर्थिक गणनाको तयारी, आवश्यकता र महत्वबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार औद्योगिक तथा व्यापारिक संरचनाको तथ्यांक संकलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास लक्ष्यको मापन, प्रतिस्पर्धी क्षेत्रको पहिचान, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदानको मूल्याङ्कनका लागि आर्थिक गणना अत्यन्त महत्वपूर्ण हुन्छ।
आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने जनाइएको छ। उक्त अवधिमा वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक र अनौपचारिक दुवै प्रकारका प्रतिष्ठान तथा व्यवसायहरूको गणना गरिनेछ।
हुम्लामा पनि गणनाको तयारी तीव्र रूपमा अघि बढाइएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ। गणना कार्यका लागि गणक, सुपरिवेक्षकसहित १४ जना जनशक्ति परिचालन गरिनेछ।