रामेछाप दुर्घटना : निर्वाचन कर्मचारीसहितको गाडी पल्टिँदा २ जनाको मृत्यु, ५ घाइते काठमाडौं रिफर
- २०८२ फागुन १८ गते
रामेछाप ।रामेछाप नगरपालिका–२ देउरालीमा सोमबार निर्वाचन कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमा आरपी यादव र डोरप्रसाद घिमिरे रहेका छन्। यादव नेपाल प्रहरीका असई हुन् भने घिमिरे रामेछाप नगरपालिका–३ साँघुटारस्थित मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत थिए। उनी मन्थली नगरपालिका–६ मुगिटारस्थित रुद्राक्षेश्वर माविमा निमावि द्वितीय शिक्षकसमेत रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार रामेछाप नगरपालिका–२ देउरालीको शीतलादेवी मावि तथा वडा नं. ३ साँघुटारस्थित वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामग्री बोकेको निसान कम्पनीको मिनीट्रक देउरालीको सिरुवारीमा ब्याक गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र तीन महिला रहेका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।