शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य : नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
मंसिर १७, २०८२
बाँके।बाँकेको नरैनापुर गाउँपालिकाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत शिक्षा क्षेत्रमा अनधिकृत बन्द–हड्ताल तथा अव्यवस्थित आव्हानहरू बढ्न थालेपछि औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ। गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहीबार जारी गरेको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाजविरोधी भन्दै कडा शब्दमा आलोचना गरिएको छ।
अध्यक्ष शाहका अनुसार विद्यालयका बालबालिकालाई पोशाकमै सडकमा उतारिएको दृश्य दुःखद र निन्दनीय मात्र होइन, कानुनी र नैतिक दुवै दृष्टिले अपराधसरहको कृत्य हो। यस्तो व्यवहारले बालअधिकार उल्लङ्घन हुनुका साथै स्थानीय शिक्षा व्यवस्थापनलाई समेत कमजोर बनाइरहेको विज्ञप्तिमा उल्लेख छ।
शान्त, श्रमशील र सद्भावपूर्ण समुदायको पहिचान बोकेको नरैनापुरलाई केही व्यक्तिहरू व्यक्तिगत स्वार्थ तथा बाह्य निर्देशनमा परेर अस्थिर बनाउन खोजिरहेको आरोप अध्यक्ष शाहले लगाएका छन्। उनका अनुसार यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाह अवरुद्ध हुनुका साथै भविष्यका पुस्ताको अधिकारमा प्रत्यक्ष प्रभाव पार्छ।
बन्द–हड्तालले दैनिक ज्यालादारी मजदुर, विद्यार्थी, महिला, वृद्धवृद्धा तथा सर्वसाधारणको जीवन कष्टकर हुने उल्लेख गर्दै अध्यक्ष शाहले गैरजिम्मेवार गतिविधि तत्काल रोक्न सबै पक्षलाई आग्रह गरेका छन्।
शिक्षक सरुवा विवादपछि फैलिएको भ्रम
हाल शिक्षक सरुवालाई लिएर केही समूहले जनतामा भ्रम फैलाइरहेको गाउँपालिकाको दाबी छ। स्थानीयले बारम्बार दिएका गुनासोका आधारमा शिक्षा नियमावलीअनुसार नियमित सरुवा गरिएको भए पनि, सरुवा बदरको मागसहित केही शिक्षक अदालत पुगेका थिए। तर अदालतले सरुवा भएको स्थानमै हाजिर भई कार्य सञ्चालन गर्न आदेश दिएको गाउँपालिकाले जनाएको छ।
अदालतको आदेश विपरीत बिनय दिक्षितको नेतृत्वमा नरैनापुर–५ र ६ को हुलाकी सडकमा अवरोध सिर्जना गरिएको भन्दै गाउँपालिकाले यस्तो कार्यलाई अवैध, जनताप्रति दुःखदायी र निन्दनीय भनेको छ।
गलत सूचना र अफवाहबारे चेतावनी
विज्ञप्तिमा शिक्षा तथा सार्वजनिक सेवा जस्ता संवेदनशील क्षेत्रमा भ्रम फैलाउने प्रयास सह्य नहुने उल्लेख गर्दै सबै पक्षलाई कानुनी प्रक्रियाअनुसार संवाद र समाधानमा आउन अनुरोध गरिएको छ।
शिक्षा समिति पूर्ण रूपमा कानुनी तथा प्रक्रियागत रूपमा नै सञ्चालन भइरहेको स्पष्ट गर्दै गाउँपालिकाले गलत सूचना र अफवाहबाट सचेत रहन नागरिकलाई अपिल गरेको छ।
अध्यक्ष शाहले भनेका छन्, “विद्यार्थीहरू कुनै राजनीतिक वा निजी स्वार्थका साधन होइनन्, उनीहरू देशको भविष्य हुन्। विद्यालयबाट निकालेर आन्दोलनमा उपयोग गर्नु कानून र समाज दुवैले अस्वीकार गर्छ।” बालअधिकार ऐन तथा शिक्षा ऐनले बालबालिकालाई राजनीतिक क्रियाकलापमा प्रयोग गर्न कडाइका साथ निषेध गरेको भन्दै उहाँले अभिभावक, शिक्षक र समाजका सबै पक्षलाई यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
आन्दोलनको क्रममा बिनय दिक्षितसँग भएको फोन वार्तालाई तोडमोड गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी अध्यक्ष शाहले विज्ञप्तिमार्फत गरेका छन्। उनले यस्तो गतिविधिको कडा शब्दमा निन्दा गर्दै सत्य–तथ्य विपरीत सूचना नफैलाउन चेतावनी दिएका छन्। अध्यक्ष शाहले नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भावका पक्षमा एकजुट हुन अनुरोध गरेका छन्। कुनै पनि समस्या संवाद, तथ्य र कानुनी मार्गबाट समाधान गर्न गाउँपालिका सधैं तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ।उनको भनाइअनुसार “नरैनापुरलाई विकास, सुशासन र स्थायित्वतर्फ अगाडि बढाउने हाम्रो यात्रालाई व्यक्तिगत स्वार्थका कारण अवरुद्ध हुन दिइने छैन।”