हुम्लामा निःशुल्क लोकसेवा तयारी कक्षा आगामी पौष १ देखि सञ्चालन
मंसिर १७, २०८२
हुम्ला । हुम्लामा आगामी पौष १ गतेदेखि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने भएको छ । नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका, सामाजिक विकास कार्यालय हुम्ला र आधार विकास नेपालको संयुक्त पहलमा कक्षा सञ्चालनको तयारी गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख ईश्वर बहादुर सिंहले जानकारी दिनुभयो ।
बुधबार सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा बसेको बैठकले पौष १ बाट कक्षा सुरु गर्ने निर्णयसँगै जिल्लाभर प्रचार–प्रसारलाई तीव्र पार्ने निर्णय गरेको हो । साथै तयारी कक्षा सञ्चालनका लागि सामाजिक विकास कार्यालय प्रमुख सिंहको संयोजकत्वमा सात सदस्यमो सञ्चालक समिति गठन गरिएको छ ।
मुख्य लक्ष्य हुम्लामा लोकसेवा तथा अन्य आयोग तयारीका लागि सहज र प्रभावकारी वातावरण निर्माण गर्दै जिल्ला स्तरमा सक्षम जनशक्ति उत्पादन गर्नु रहेको प्रमुख सिंहले बताउनुभयो । विशेषगरी योग्यता पुगेका तथा इच्छुक सिमान्तकृत, दलित र आर्थिक रूपमा कमजोर युवायुवतीलाई लोकसेवा प्रवेशमा सहयोग पु–याउने उद्देश्य कार्यक्रमको केन्द्रमा छ ।
जिल्लास्थित सबै क्याम्पस र कक्षा १२ मा अध्ययनरत विद्यार्थी तथा अन्य इच्छुकलाई अनिवार्य सहभागीता जनाउन आग्रह गरिएको छ । यसबाट विशेषगरी गरिब तथा दलित समुदायका विद्यार्थीले राहत पाउने अपेक्षा गरिएको छ ।
सुरुमा ६ महिनासम्म सञ्चालन हुने तयारी कक्षा आवश्यकताअनुसार निरन्तर चलाइने छ । कक्षामा खरिदार, सुब्बा लगायत चौथो र पाँचौं तहका सम्बन्धित विषयहरू समेटिनेछन् ।
कार्यक्रमको औपचारिक सुरुआत भोली बिहान ११ बजे मानसरोवर नमुना माध्यमिक विद्यालयमा गरिने छ । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडिओ) लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।