अपांगता दिवस अवसरमा सिमकोट गाउँपालिकाद्वारा अण्डा वितरण
मंसिर १७, २०८२,बुधबार
सिमकोट । ३४औं अन्तर्राष्ट्रिय अपांगता दिवस–२०८२ को अवसरमा सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा तथा पोषणमुखी कार्यक्रमअन्तर्गत पूर्ण अपांगता भएका व्यक्तिहरूलाई घरदैलोमै अण्डा वितरण कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाभरका जुनसुकै उमेरका पूर्ण अपांगता भएका व्यक्तिहरूलाई प्रति व्यक्ति १ क्यारेट अण्डा वितरण गर्ने कार्यक्रम आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको हो । पहिलो दिन वडा नं. ६ का ९ जना लाभग्राहीलाई विशेष कार्यक्रममार्फत सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अण्डा हस्तान्तरण गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, प्रवक्ता तथा वडा नं. ६ का वडाअध्यक्ष नन्द रावत, विभिन्न शाखाका कर्मचारी तथा सुस्वाका सामाजिक परिचालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयबासीको रोहबरमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको जनाइएको छ ।
आज वडा नं. ६ बाट सुरु गरिएको वितरण अभियान भोलिदेखि अन्य सबै वडामा विस्तार गरिनेछ । जनप्रतिनिधि, महिला तथा बालबालिका शाखाका कर्मचारी, ज्येष्ठ नागरिक शाखा तथा सामाजिक परिचालकहरूको टोली घरघरमै पुगेर पूर्ण अपांगता भएका व्यक्तिहरूलाई अण्डा वितरण गर्ने तयारी भएको शाखा प्रमुख नरबहादुर जेठाराले जानकारी दिए ।
यस कार्यक्रमअन्तर्गत सिमकोट गाउँपालिकाका ८ वटै वडामा रहेका ८२ जना पूर्ण अपांगता भएका व्यक्तिहरू मात्र नभई साहारा समूह र हेड नेपालको संरक्षणमा रहेका बालबालिकालाई समेत अण्डा वितरण गरिनेछ ।
पालिकाले यस वर्ष परम्परागत र्याली तथा औपचारिक भाषणभन्दा भिन्न ढङ्ग अपनाउँदै, राहतमुखी तथा सामाजिक सुरक्षा केन्द्रित कार्यक्रममार्फत अपांगता भएका व्यक्तिहरूको सामाजिक संरक्षण, सहअस्तित्व, जीवनयापनको हक सुनिश्चितता तथा स्वास्थ्य–पोषण सुधारमा योगदान पु¥याउने लक्ष्य रहेको जनाएको छ । अण्डा वितरण कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आगामी दिनमा पनि अपांगता भएका नागरिकका हितमा प्रभावकारी कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।