हुम्लाका पाँच विद्यालयलाई ‘हेल्प’ संस्थाद्वारा ‘स्कुल इन् ब्याग’ वितरण
मंसिर १८, २०८२, बुधबार
सिमकोट । हुम्लाका पाँच विद्यालयका विद्यार्थीलाई हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प) नामक संस्थाले ‘स्कुल इन् ब्याग’ सामग्री वितरण गरेको छ । अदानचुली गाउँपालिकाको तल्लो क्षेत्रका मष्टादेब, पुद्दुकोट, गल्फागाड, थुममालिका र मण्डाली आधारभूत विद्यालयका विद्यार्थीहरू सो कार्यक्रममार्फत लाभान्वित भएका हुन् ।
कार्यक्रमअन्तर्गत अदानचुली–२ का पुद्दुकोट, मष्टादेब, थुममालिका, गल्फागाड तथा अदानचुली–१ तल्लो कल्खेकास्थित मण्डाली आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा व्यक्तिगत सरसफाइमा उपयोगी सामग्री प्रदान गरिएको हेल्पका प्रतिनिधि मोहन तामाङले जानकारी दिए ।
उहाँले ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिकाले शैक्षिक सामग्री र सरसफाइजन्य सामानको अभावका कारण विद्यालयमा नियमित रूपमा उपस्थित हुन नसक्ने समस्या देखिएको बताउँदै ‘स्कुल इन् ब्याग’ कार्यक्रमले उनीहरूलाई विद्यालय जान प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वितरण सामग्री कक्षाअनुसार फरक–फरक राखिएको थियो। कक्षा ३ सम्मका विद्यार्थीलाई १५ प्रकारका तथा कक्षा ४ र ५ का विद्यार्थीलाई १७ प्रकारका सामग्री दिइएको हो । प्रदान भएको सामग्रीमा झोला, पानीको बोतल, रंग, विभिन्न कापी, ज्यामेट्री बक्स, पेनसिल, स्केल, कैंची, नेलकटर, मञ्जन, ब्रस, भ्यास्लिन, साबुनलगायत वस्तु समावेश छन् ।
शैक्षिक सामग्रीको अभावमा अध्ययनमा कठिनाइ भोग्दै आएका विद्यार्थीहरू आवश्यक सामग्री पाएपछि खुसी देखिएका छन् । सामग्री वितरणको पहलकर्ता अदानचुली–२ का लोकेन्द्र भण्डारीका अनुसार यस प्रकारको सहयोगले विद्यार्थीलाई नियमित रूपमा विद्यालय जान प्रेरित गर्नुका साथै अध्ययनमा हौसला प्रदान गरेको छ ।
उहाँले स्थानीयस्तरमै शिक्षा सुधारका लागि सक्दो पहल गर्नुपर्ने उल्लेख गर्दै आवश्यक परे दातृ निकायसँग समन्वय गरी सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । हेल्प संस्थाका अनुसार अदानचुली गाउँपालिकाका ५ विद्यालयका करिब ४ सयभन्दा बढी विद्यार्थीलाई १७ प्रकारसम्मका शैक्षिक र व्यक्तिगत सरसफाइका सामग्री वितरण गरिएको छ ।