एमाले ११औँ महाधिवेशन : हुम्लामा प्रतिनिधि छनोट प्रक्रियामाथि प्रश्न
मंसिर १६, २०८२
हुम्ला । नेकपा (एमाले)को आसन्न ११औँ महाधिवेशनका लागि हुम्लामा सम्पन्न प्रतिनिधि छनोट प्रक्रिया विवादमा तानिएको छ । प्रतिनिधि बन्ने अपेक्षा राखे पनि छनोट सूचीमा नपरेपछि प्रदेश कमिटी सदस्य नवराज महताराले प्रक्रियागत कमजोरी तथा पार्टीभित्र देखिएका नयाँ प्रवृत्तिमाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन् ।
छनोटमा परेनन् भनी फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै महताराले २०५९ सालदेखि सक्रिय रूपमा संगठनमा लाग्दै आएको आफ्नो योगदान र दशकभन्दा बढीको कमिटिगत संलग्नतालाई बेवास्ता गर्दै पहिलो पटक गरिएको दावी नै विवादास्पद बनेको टिप्पणी गरेका छन् ।
मंसिर १३ गते सम्पन्न प्रतिनिधि छनोट प्रक्रिया विधि–पद्धतिमै त्रुटिपूर्ण रहेको दाबी गर्दै उनले भने, “१० जना को जान्छन् भन्ने विषय गौण हो; तर कसरी चयन गरियो भन्ने नै चिन्ताको विषय हो। जनवादी केन्द्रीयताको नाममा पार्टीभित्र ‘अनुयायी बनाउने’ प्रवृत्ति सल्किन थालेको छ ।”

महताराका अनुसार समावेशी लोकतन्त्रको मूल उद्देश्य जनभावनाको प्रतिनिधित्व गर्नु हो; तर पछिल्लो गतिविधिले दलभित्र शक्ति–सन्तुलन र भागबन्डामै सीमित हुने संकेत दिएको छ ।
राजनीति राज्य सञ्चालनको नीति मात्र नभई भावी नेतृत्व उत्पादन गर्ने वैज्ञानिक संरचना पनि भएको बताउँदै उनले योग्य जनशक्ति उत्पादन हुने वातावरण झन् अपारदर्शी बन्दै गएको आरोप लगाए ।
उनले प्रश्न उठाए—“कार्यकर्तालाई द्वन्द्वमा राखेर आफू सुरक्षित रहिरहने परम्परागत प्रवृत्ति संस्थागत गर्न खोजिएको त होइन?”
महताराले नेतृत्व उत्तराधिकारी प्रणाली निर्माणमा ‘आत्मकेन्द्रित सोच’ र ‘मण्डलीवादी घेराबन्दी’ हाबी बन्दै गएको उल्लेख गर्दै यसले पार्टीको चुनावी आधार र भविष्य नै कमजोर पर्न सक्ने चेतावनी दिए ।
अन्त्यमा, उनले संगठनमा जिम्मेवारी प्रदान गर्दा योगदान, विधि, पद्धति र अनुशासनलाई आधार मान्नुपर्नेमा पछिल्ला वर्षमा अवसर वितरण नैतिकता र प्रक्रियासँग मेल नखाने जस्तो देखिएको टिप्पणी गरे।
उनको भनाइमा,“हामीले फलाक्ने संगठनात्मक आदर्श र व्यवहारबीच ठूलो दूरी छ । यो प्रवृत्तिले जनअनुमोदन पाउँछ कि पाउँदैन—अब निर्मम रूपमा समीक्षा गर्न आवश्यक छ।”