एमाले हुम्लामा ‘टिकेप्रथा’ हाबी : प्रतिनिधि चयन असवैधानिक भएको शाहीको आरोप
मंसिर १५,२०८२
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लामा ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छान्ने प्रक्रियामा “टिकेप्रथा” हाबी भएर असवैधानिक तरिकाले नाम सार्वजनिक गरिएको आरोप अखिल नेपाल महिला संघ हुम्लाकी इन्चार्ज रुपा शाहीले लगाएकी छन् । उनीका अनुसार जिल्ला नेतृत्वले गुटअनुसार पात्र छनोट गर्दै अर्का केन्द्रीय सदस्य दल फडेरा निकट कार्यकर्तालाई पूर्ण रूपमा बाहिर राखेर स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल नजिकका व्यक्तिलाई मात्र प्रतिनिधिमा उठाएको छ ।
“सहमतिको प्रक्रिया नै भएन, निर्वाचन त झन् गरिएन। दुई–चार जनाले बसेर टिके दिएजस्तो गरी नाम सार्वजनिक गरियो,” शाहीले आरोप लगाइन् । उनले महिलाले वर्षौं योगदान दिए पनि गुटगत कारणले पन्छाइने चलन बढ्दै गएको बताइन् । “टप्प आयो टिपेर लियो—यही प्रथाले सक्षम महिलालाई पछाडि धकेलिएको छ,” शाहीको भनाइ छ ।
शाहीका अनुसार यसरी गरिएको गुटीय निर्णयले एमालेभित्र निष्पक्ष वातावरण कमजोर बनेको छ र कार्यकर्तामा गम्भीर असन्तोष पैदा भएको छ । यता एमाले हुम्लाले भने प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको दाबी गर्दै अध्यक्ष ज्ञामी बुमी, नेता लोकबहादुर हमाल, महिला तर्फ बिमला कुमारी शाही र प्रतिमा लामा, दलित तर्फ पर्वत सुनार, र ४० वर्षमुनिको युवा तर्फ सचिव तीर्थराज बोहरालाई महाधिवेशन प्रतिनिधि घोषित गरेको छ ।
शाही भने भन्छिन्—“यी सबै रावल–बोगटी वा छक्का लामा पक्षका हुन्, फडेरा समूहबाट एक जनासमेत समावेश छैन। यसलाई कसरी निष्पक्ष भनौं?” उनले पार्टीभित्र देखिएको गुटीय चलन रोकिएन भने आउने चुनावमा कार्यकर्ताको आस्था कमजोर हुँदै जाने चेतावनी दिएकी छन् ।