सुर्खेतमा दुर्घटनामा परी सञ्चारकर्मी वीरेन्द्र आचार्यको मृत्यु

फिल्को मिसन

मङ्सिर १३, २०८२
सुर्खेत। प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेशन म्यानेजर सञ्चारकर्मी वीरेन्द्र आचार्यको सुर्खेतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ।

शुक्रबार साँझ वीरेन्द्रनगर नगरपालिका–२ वडा कार्यालय अगाडि लुम्बिनी प्रदेश–३६–प–३८८६ नम्बरको आचार्यले चलाएको स्कुटीलाई कर्णाली प्रदेश–०२००३–प–१७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

वीरेन्द्रनगरको मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकल र ३४ वर्षीय आचार्य सवार स्कुटी आपसमा ठोक्किँदा दुवै घाइते बनेका थिए।

गम्भीर घाइते आचार्यको उपचारका क्रममा प्रदेश अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल चालक शाहीको अवस्था मध्यम रहेको तथा उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको पनि प्रहरीले जनाएको छ।

लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी आचार्यको असामयिक निधनसँगै कालिकोट जिल्लासहित कर्णालीको सञ्चार क्षेत्र शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस