सिमकोट गाउँपालिकाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न
मंसिर १२, २०८२
हुम्ला। सिमकोट गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ। “उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकीय सहर—समृद्ध हाम्रो सिमकोट नहर” भन्ने मूल नारासहित आयोजना गरिएको गोष्ठी आर्थिक वर्ष सम्पन्न भएको पाँच महिनापछि गरिएको हो।

गोष्ठीमा सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वर्षबहादुर फडेरा कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा गाउँपालिकाभित्रका भूगोल, सामाजिक अवस्था, आर्थिक गतिविधि, धार्मिक तथा सांस्कृतिक पक्ष, प्राकृतिक स्रोत–साधन, मानवीय विकासदेखि कृषि क्षेत्रमा प्राप्त तथ्यांकसम्म समेटिएको थियो। यस वर्ष गाउँपालिकाले ३४ लाख ९९ हजार ३ सय राजस्व संकलन गरेको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाले ११८ वटा योजना प्रस्ताव गरेकोमा ७६ वटा योजनामा सम्झौता भएको र ११७ योजना सम्पन्न भएको फडेराले जानकारी दिए। सिमकोट गाउँपालिकाको बजेट खर्च ९४.४१ प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ।
समीक्षाका क्रममा हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकसँग लिइने शुल्क उधारो किन राखिनुपरेको भन्ने प्रश्न उठाए। राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महतले जनहितमा केन्द्रित भएर काम गर्न, प्रगतिमा बाधा पुर्याउने तत्व हटाउन तथा जनप्रतिनिधि र कर्मचारी दुवै अनुशासनमा बस्नुपर्ने सुझाव दिए।

नेकपा एमाले जिल्ला कमिटी हुम्लाका सचिव तिर्थराज बोहराले समीक्षा समयमा हुनुपर्ने भए पनि ढिलाइ गरिएकोप्रति आपत्ति जनाए। उनले सिमकोटले विशेषगरी कृषि तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।
समारोहोमुख्य अतिथि गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी रहेका थिए। समन्वयका कार्यवाहक प्रमुख सरिता रावतले पानसमा बत्ती बालेर कार्यक्रमको प्रारम्भ गराएकी थिइन् भने प्रमुख जिल्ला अधिकारी रेग्मीले ब्यानर पढेर गोष्ठी उद्घाटन गरेका थिए।