हुम्ला जिल्ला आँखा उपचार केन्द्रको भवन निर्माणसँगै उद्घाटन

अर्जुन बोहरा

मंसिर १०, २०८२
हुम्ला । नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालित हुम्ला जिल्ला आँखा उपचार केन्द्रको नवनिर्मित भवन आज एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । आधुनिक सुविधासहितको दुई तले संरचना निर्माण सम्पन्न भएपछि जिल्लावासीले गुणस्तरीय आँखा उपचार सेवा सहज रूपमा पाउने भएका छन् ।


करीब ९४ लाख ९१ हजार १ सय ४४ रुपैयाँ लागतमा बनेको भवन निर्माणका लागि आई केयर फाउन्डेसनले ६४ लाख ६८ हजार ८ सय ६३ रुपैयाँ, कर्णाली प्रदेश सरकारको शर्तबद्ध अनुदानमार्फत सिमकोट गाउँपालिकाले ३० लाख रुपैयाँ, र नेत्र ज्योति संघ चितवन शाखाले १ लाख रुपैयाँ सहयोग गरेका थिए ।


नयाँ भवनको तल्लो तलामा सेवा कक्ष, शल्यकक्ष, परामर्श कक्ष, प्रतीक्षा कक्ष तथा अत्याधुनिक उपकरणहरू स्थापना गरिएको छ । माथिल्लो तल्लामा स्टाफका लागि आवश्यक कोठाहरू रहेको उपचार केन्द्रले जानकारी दिएको छ। अब मोतियाविन्दु शल्यक्रिया, दृष्टि परीक्षण, बाल आँखासम्बन्धी सेवा, आँखा संक्रमण उपचारलगायतका सेवाहरू अझ व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
उपचार केन्द्रका प्रमुख बुम बोहराका अनुसार हरेक वर्ष विभिन्न सहयोगी संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको निःशुल्क आँखा शिविर तथा शल्यक्रियाहरू अब आधुनिक भवनले झनै सुगम बनाउनेछन ्।
नेपाल नेत्र ज्योति संघ कर्णाली प्रदेशका सभापति तथा केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले सामान्य अवस्थाबाट सुरु भएको आँखा उपचार सेवा आज आधुनिक संरचना र उपकरणसहितको सेवामा रूपान्तरण हुनु हुम्लावासीको भरोसा तथा संस्थाको निरन्तर प्रतिबद्धताको परिणाम भएको बताए ।


संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले कर्णालीका दुर्गम बस्तीमा मोबाइल एप्समार्फत आँखाको प्रारम्भिक परीक्षण सेवा विस्तार गरिनेसमेत जानकारी दिए ।
आई केयर फाउन्डेसन नेपालका केन्द्रीय डाइरेक्टर तथा कार्यक्रम प्रवद्र्धक अनिल गोरखालीले आधुनिक भवन सञ्चालनमा आएपछि हुम्लेलीहरू आधारभूत आँखाउपचारमा सहज पहुँच प्राप्त गर्ने बताए ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले अब गुणस्तरीय आँखा उपचारका लागि बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्दै गाउँपालिकाबाट आवश्यक सहयोग निरन्तर रहने बताए।


उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, हिमालय आँखा अस्पतालका प्राध्यापक डा. ज्ञानबहादुर काकी, र राजनीतिक दल तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू— राप्रपा नेपालका जिल्ला अध्यक्ष विकास महत, नेपाल रेडक्रस सोसाइटी हुम्लाका सभापति गणेश महत, नेपाल पत्रकार महासंघ हुम्लाका उपसभापति छपाल लामा लगायतले नयाँ भवन सञ्चालनमा आएपछि आँखा उपचारका लागि अन्य जिल्लातिर धाउनुपर्ने समस्या अन्त्य हुने धारणा राखे ।

नेत्र ज्योति संघ हुम्लाका सभापति नर बहादुर रोकायाले लामो प्रयास, विभिन्न निकायको सहकार्य तथा स्थानीयको साथले भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै बाँकी आवश्यक उपकरण र पूर्वाधारका लागि अझै सहयोग अपेक्षित रहेको बताए । उनले नै उद्घाटन समारोहको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस